काठमाण्डौ। गरिमा विकास बैंक लिमिटेडको ५१.२०% सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ। 

योसँगै अब केसीएल अस्ट्युटले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटलको नाममा सञ्चालन हुनेछन्।

गत असार ४ गते केसीएल अस्ट्युट क्यापिटल र गरिमा विकास बैंकबीच गरिमा विकास बैंकले केसीएल अस्ट्युटको सेयर लगानी/स्वामित्व खरिद गर्नेसम्बन्धी भएको समझदारीपत्र हस्ताक्षर भएको थियो। समझदारीबमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयको गत चैत ७ गतेको पत्रबाट साविकको केसीएल अस्ट्युट क्यापिटलको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु व्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम केसीएल अस्ट्युट क्यापिटलबाट परिवर्तन गरी गरिमा क्यापिटल कायम भएको हो।

संस्थाको नाम परिवर्तनसम्बन्धी औपचारिक जानकारी सम्पूर्ण सरोकारवालाहरुसमक्ष सम्प्रेषण गर्ने प्रयोजनार्थ सोमबार सम्मेलन आयोजना गरिएको थियो। 

पत्रकार सम्मेलनअगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष, पूर्वअध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, काठमाण्डौ क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरु, साविक केसीएल अस्ट्युटका सञ्चालक, गरिमा क्यापिटलका सञ्चालक तथा अन्य पदाधिकारीको उपस्थिति थयो।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। साविक केसीएल अस्ट्युटबाट लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह हुँदै आएकोमा अब गरिमा क्यापिटलले मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवा (जस्तैः निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्टे«सन, संस्थागत परामर्श तथा सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डलगायत अन्य फन्डहरुको व्यवस्थापनसम्बन्धी सेवाहरु) प्रदान गर्नेछ। 

गरिमा क्यापिटलका सेवाहरु ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुने व्यवस्था मिलाइनेछ। संस्थाले अफ्ना सेवाहरु अझ परिष्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्नेछ।

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डेय तथा सदस्यहरुमा रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन्।