काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्। 

आज नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरु अगाडि बढाउने गृहकार्य भइरहेको बताएका हुन्। 

नेपाल सरकार आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट रहेको बताए।

‘सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरु अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरुले समेत त्यसबाट प्रेरणा लिन सकून्’, उनले भने।