– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। हिजो असोज ३१ गते अन्तिम दिनसम्म सेबोनमा धितोपत्र व्यापारी (स्टक डिलर)का लागि एउटा, पूर्णकालीन कार्य गर्ने ४ वटा र सीमित कार्य गर्ने ४१ वटा ब्रोकर लाइसेन्सका लागि आवेदन परेको हो। 

हाल ५० वटा ब्रोकर हाउस सञ्चालनमा छन्। नयाँ आवेदन दिएका सबैले लाइसेन्स पाउने हो भने ब्रोकरको संख्या ९६ वटा पुग्नेछ। 

संख्या थपिएपछि सेयर कारोबार गर्ने ब्रोकरहरुका चुनौती र सम्भावनाको विषयमा  पनि पुँजीबजारमा चर्चा चल्न थालेको छ। नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया चल्दै गर्दा पुराना एक ब्रोकर सञ्चालकले आशंका गर्दै भने, ‘खोई चल्लान् र यति धेरै ब्रोकर ? केही समयपछि बैंक तथा वित्तीय संस्थाजस्तै मर्जमा जाने त होलान् नि!’

त्यसो त नयाँ व्यापार गर्नुअघि सम्भावनाको खोजी तथा बजार अनुसन्धान गर्ने चलन छ। अहिले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका कम्पनीहरुले बजारका विषयमा के–कति अध्ययन गरे ? यो विषय उनीहरुमै निहीत हुन्छ। तर, अहिलेकै बजारमा उनीहरुका लागि चुनौतीलाई कम भने आँकलन गर्न सकिन्न। 

नेप्सेकै एक अधिकारीले भने, ‘५५ लाख डिम्याट भए पनि १० कित्ते नीति छ। वास्तविक कारोबार गर्नेहरुको निकै कम छन्। बजार बढ्दा एकैदिन २१ अर्बभन्दा बढी कारोबार भए पनि बजार घटेको बेला त्यस्तो कारोबार ५१ कारोड रुपैयाँमा सीमित भएको छ।’

नयाँ ब्रोकरको सम्भावनाकै विषयमा बजारविज्ञ रवीन्द्र भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेयर बजार सानो छैन। हालका ५० ब्रोकर कम्पनीले अरु ब्रोकर थपिए हामी सकिन्छौँ भनेर बार हाल्न धेरै प्रयास गरे र गरिरहेका छन्। व्यवसायमा आफ्नो प्रभुत्व कायम गर्न खोज्नु र गरिरहने प्रयास गर्नु अस्वाभाविक हैन तर सधैँ यो सम्भव पनि छैन। ब्रोकरेज सेवा दिन अरु ४५ कम्पनीले निवेदन दिएछन्। यी ४५ पनि यो बजारमा सम्भावना देखेर नै आउँदैछन् जस्तो लाग्छ। उनीहरु सकिनका लागि त अवश्य आउन खोजिरहेका छैनन्।’

‘अहिले भएका ब्रोकरले जति सम्भावना देखेका छन्, त्योभन्दा बढी सम्भावना उनीहरुले यो बजारमा देखेका छन्। किनकि त्योभन्दा कम सम्भावना देखिए त सिद्धिन पनि सकिन्छ’, भट्टराईले थप लेखेका छन्, ‘अनि यी आए भने अहिलेका ब्रोकर संघको समूह पनि अझ बढ्छ। यसले त उनीहरुको व्यवसायको प्रतिरक्षा गर्न अझ सहयोग पुग्ने होला नि। समूह जति ठूलो भयो त्यति नै शक्ति बढ्छ हैन ? बरु आफ्नो समूह बढ्ने र झन दरिलो हुने कुरामा उनीहरुलाई भित्र्याउन अझ सहयोग आवश्यक हुन्छ जस्तो लाग्छ है।’

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार पनि नयाँ ब्रोकरका लागि चुनौती भनेको प्रतिस्पर्धा नै रहेको बताउँछन्। ‘नयाँ ब्रोकरका लागि बजार खोज्नु चुनौती हुन सक्छ तर सम्भावना अपार नै छ’, उनी भन्छन्, ‘पक्कै पनि उनीहरु केही बुझेर नै आउन खोजेका छन्। नयाँ ब्रोकरमात्रै नआएर स्टक एक्सचेन्ज पनि आउँदैछ। अब नयाँ प्रडक्ट तथा टेक्नोलोजी पनि आउन सक्छ। तिनै कम्पनीका ३० प्रतिशत प्राथमिक सेयर पनि आउने विषय छ। रियल सेक्टर पनि पुँजीबजारमा आउन बाँकी नै रहेको छ।’

यी सबैले अब बजारमा लगानीकर्ताले सस्तो लागतमा क्वालिटी सेवा पाउने सम्भावनालाई उजागर गर्ने रौनियारको भनाइ छ। ‘नेप्सेले पनि अब राम्रो सेवा दिन्छ। अब नेपालमा पनि विश्व बजारमा भएको सेवा तथा सुविधा लगानीकर्ताले पाउँछन्’, उनले भने, ‘नयाँ ब्रोकरसँगै पुँजी पनि भित्रिने भएकोले आगामी दिनमा ५० अर्ब रुपैयाँको कारोबार यही पुँजी बजारमा हुन्छ किनकि इन्ट्रा डे कारोबार तथा अक्सन मार्केटजस्ता प्रडक्ट भित्रिँदा नयाँ ब्रोकरहरुका लागि सम्भावना नै सम्भावना छ।’

नेपाल स्टक हाउस (ब्रोकर नं. १४)का सञ्चालक ईश्वरीप्रसाद रिमालले नयाँ र पुराना सबै ब्रोकरलाई नै पुँजीबजारमा चुनौतीको चाङ नै रहेको बताए। ‘किनकि हाम्रोमा रेगुलेटर बडी कसरी चल्छ भन्ने नै मुख्य विषय छ’, उनले भने, ‘नयाँ प्रडक्ट ल्याउनेदेखि सर्भिलेन्स सेवा दिनका लागि सबै रेगुलेटर बडीको नै मुख्य भूमिक रहेको हुन्छ। अब सबैले यही एउटा केक बाँडेर खाने हो। खर्च बढेको छ। नयाँ शाखा खोल्न सञ्चालन गर्न सजिलो छैन।’

दैनिक ५ करोड रुपैयाँको कारोबारले पनि खर्च धान्न मुस्किल रहेको रिमालको भनाइ छ। ‘देशको अर्थतन्त्र र तरलता पनि मुख्य चुनौती छ’, उनले भने, ‘विगत १४ महिनादेखि असहज अवस्था छ। यसकारण पुँजीबजारमा सबै ब्रोकरलाई चुनौती नै देख्छु।’