– अनन्त्य सुन्दर

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा ठूलो उतारचढाव आएको छ। बजेट, राजनीतिक अवस्था, नेपाल धितोपत्र बोर्डको विज्ञप्तिलगायत विभिन्न कारणले गर्दा बजारमा उत्तरचढाव आएको विज्ञहरू बताउँदै आएका छन्। 

गत जेठ ३१ गते ३०२५ विन्दुमा पुगेको नेप्से परिसूचक अहिले २८२३ विन्दुमा झरेको छ। असार महिना लागेयता परिसूचक २०० अंकले घटेको हो। 

बजार एक्कासि ओरालो लाग्दा धेरैजसो नयाँ लगानीकर्ताहरूमा त्रास पनि उत्पन्न भएको छ। कतिपय लगानीकर्ताहरूले त घाटामा पनि सेयर बेचेका छन्। तर विगत केही वर्षदेखि सेयर बजारमा सक्रिय भएर लगानी गर्दै आएको लगानीकर्ताहरू भने अहिले राम्रा कम्पनी किन्ने दाउमा छन्। राम्रो लाभांश दिने कम्पनीहरू किनेका लगानीकर्ताहरू आफूले गरेको लगानीमा ढुक्क भएको देखिन्छ।

दैनिक १८ अर्ब कारोबार हुने बजारमा अहिले ५–६ अर्बको कारोबार हुने गरेको छ। बजार साथै कारोबार रकम यसरी घट्दा धेरैजसो लगानीकर्ताहरूलाई बियर सुरु भयो भन्ने पनि लागेको छ। त्यसैले बजार घट्दा धेरै लगानीकर्ताहरूले प्यानिक सेल पनि गरेको पाइयो। तर बजार बुझेका लगानीकर्ताहरूलाई भने घट्दो बजार राम्रो कम्पनीहरू खरिद गर्ने सुनौलो मौका बन्यो। बजारका एक सक्रिय लगानीकर्ता भन्छन्, ‘राम्रा कम्पनीहरू खरिद नगरी बुल सकिने भयो भन्ने लागेको थियो तर यो करेक्सनले आफ्नो पोर्टफोलियोमा राम्रा राम्रा कम्पनी थप्ने मौका मिल्यो।’ 

सेयर बजारमा लगानी गर्दै गरेका लगानीकर्ता विवेक कडरिया घट्दो बजारले गर्दा राम्रो कम्पनीहरू सस्तो मूल्यमा किन्न पाइएकोमा दंग छन्। ‘यो त करेक्सनमात्र हो। बुल त आउन नै बाँकी छ’, उनी भन्छन्, ‘नेप्से ११०० बाट ३००० सम्म पुग्यो। बजारले पनि केही समय विश्राम गर्नुपर्छ, त्यसैले मेरो विचारमा यो त सामान्य करेक्सनमात्र हो।’ 

सेयर बजारका अर्का लगानीकर्ता सचिन राजवंशी आज बजारमा कारोबार रकम न्यून हुनुका साथै अन्तिम समयमा कारोबार बढेकाले भोलिदेखि बजार बढ्ने तर्क गर्छन्। ‘अर्थमन्त्री पनि बजारप्रति सकारात्मक देखिन्छन्। बैंकहरू अझै बढ्न बाँकी नै छ। त्यसैले भोलि नभए अर्को हप्ताबाट बजार बढ्ने निश्चित छ’, उनी भन्छन्। 

बजारका अर्का सक्रिय लगानीकर्ता दीपेश पाण्डे कम्पनीहरूले लाभांश दिने बेला आएकोले अब बजार बढ्ने निश्चित रहेको बताउँछन्। ‘अब त राम्रा–राम्रा कम्पनी छनौट गरेर लगानी गर्ने हो’, उनले भने, ‘प्राविधिक विश्लेषणले पनि बजार सपोर्ट लेभलमा छ। त्यसैले पनि बजार बढ्छ।’ 

सेयर बजारमा लगानी गर्दै आएकी आश्मा केसी पनि बैंक बढ्न अझै बाँकी भएकाले बजारमा बुल आउन बाँकी नै रहेको बताउँछिन्। ‘मेरो विचारमा राष्ट्र बैंकको मौद्रिक नीति पनि बजारको हितमा आउँछ। बैंकहरूलगायत अन्य कम्पनी बढ्ने निश्चित छ’, उनी भन्छिन्, ‘त्यसैले लगानीकर्ताहरूले बेच्नेभन्दा यसलाई किन्ने मौकाका रूपमा हेर्नुपर्छ।’

सेयर बजारमा लगानी गर्दै गरेका लगानीकर्ता निमेष दाहाल सेयर बजारले अहिले लगानीकर्ताको धैर्यताको परीक्षा गर्दै गरेको बताउँछन्। ‘मेरो विचारमा बुलिस र बियरिस दुवै मार्केटले लगानीकर्तालाई किन्ने मौका दिन्छ। अहिले बुलिस मार्केटले किन्ने मौका दिएको हो’, उनले भने, ‘अहिले आफूसँग सेयर भएको कम्पनीहरू होल्ड गर्ने र नभएकाहरू खरिद गर्ने बेला हो। कम्पनीहरूले लाभांश पनि दिने बेला भयो त्यसैले राम्रा कम्पनीहरू छनौट गरी लगानी गर्दा राम्रो मुनाफा हुन्छ।’

सेयर बजारका सक्रिय युवा लगानीकर्ता नयन बास्तोला आउने दिनहरूमा बजार बढ्छ–घट्छ भन्ने भोलिको कारोबारले निर्धारण गर्ने बताउँछन्। ‘आज धेरै कारोबार भएको भए बजार बढ्ने निश्चित थियो। तर त्यस्तो भएन। अन्तिम समयमा आज कारोबार रकम बढेकाले भोलिदेखि बजार बढ्ने आश भने छ’, उनले भने, ‘बजारमा प्यानिकनेस हट्ने–नहट्ने भोलिको बजारले निर्धारण गर्छ। तर आफूसँग नभएको सेयर किन्ने मौका भने बजारले पक्कै दिएको हो।’