काठमाण्डौ । एफपीओ र त्यसपछि चिनियाँहरुको लगानीका कारण चर्चामा रहेको बुटवल पावर कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको नाफा घटेको हो । अघिल्लो वर्ष यही अवधिमा बुटवल पावर कम्पनीले ६८ करोड ३५ लाख खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६५ करोड ७७ लाखमा सीमित बन्न पुगेको हो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आयमा गिरावट आउँदा त्यसले खूद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष ५४ करोड २२ लाख बराबरको आम्दानी बिजुली बिक्रीबाट गरेको कम्पनीले यो वर्ष ५३ करोड ५० लाखको मात्र बिजुली बेचेको बित्तीय विवरणमा देखिन्छ । 

कम्पनीको उत्पादन खर्च बढेको छ भने वितरण खर्चमा पनि बढोत्तरी भएको छ । कुल संचालन खर्च चाहि केही घटेको छ ।

समीक्षा अवधिमा कम्पनी ३ करोड ६९ लाख ब्याज घाटामा छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५६.७६ रुपैयाँ, सम्पत्तिमा प्रतिफल ८.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.५५ गुणा कायम भएको छ ।