जसरी मौसममा ‘कहिले घाम कहिले पानी’ हुन्छ। त्यसैगरी सेयर बजारमा पनि परिवर्तन भई नै राख्छ। 

सेयर बजारमा घटबढ हुनु सामान्य हो। अझ भन्नुपर्दा यो एक किसिमको प्राकृतिक नियम नै हो। बजार बढेपछि केही घटेर करेक्सन भएपछि थप मजबुत भएर फेरि माथि लाग्छ। 

गत साताको कारोबारलाई हेर्ने हो भने त्यति ठूलो उत्तारचढाव आउने सम्भावाना त छैन तर प्राविधिक रुपले एल्लिबोट वेभ थेउरी, एमएसीडी लाइन र आरएसआईलाई आधार मान्ने हो भने आगामी साता बजार केही करेक्सन निश्चित छ। तर त्यो सामान्य र बजारको आवश्यकता हो। किनकि बजार सधैँ बढिराख्दैन। बजारमा पर्याप्त तरलता र कोभिड–१९ को असर कायमै रहेकोले केही करेक्सनपछि बजार थप मजबुतका साथ फेरि माथि जाने सम्भावना पनि त्यत्तिकै छ। 

हाम्रो मुलुकको प्रमुख स्रोतका रुपमा रेमिटेन्स नै रहेको छ। गत महिना पनि ३० प्रतिशत रेमिटेन्स बढेको राष्ट्र बैंक बताइरहेको अवस्थामा सेयर बजारमा त्यति धेरै चिन्ता गर्नुपर्ने देखिन्न। 

कोभिड–१९ को असर बढेर जाँदा नेपालको सेयर बजार र अमेरिकी सेयर बजारलाई जोडेर केही समय पहिला सेयर बजारमा एउटा भनाइ सुनिन्थ्यो– ‘अमेरिकामा पानी पर्दा नेपालमा छाता ओडिए।’ जब कोभिड–१९ ले युरोप र अमेरिका ढपक्कै ढाकेपछि डाउ जोन इन्डस्ट्रियल र एस एन्ड पी ५०० मा पनि भारी गिरावट आयो। त्यसैको मनोवैज्ञानिक असर पनि नेपालमा पर्यो।  अहिलेको प्रविधि र ग्लोवलाइसेसनको अवस्थामा एउटा हतेक्लामा संसार भएको अवस्थामा यो हुनु स्वभाविक नै हो। 

खसगरी अमेरिकी सेयर बजार र नेपाली सेयर बजारमा तुलना गर्न नमिले पनि लगानीकर्ताको मनोविज्ञान र कोभिड–१९ को असर भने मिल्दोजुल्दो छ। त्यतिमात्रै नभएर अमेरिकी सेयर बजारलाई प्रभाव पार्ने र नेपाली सेयर बजारलाई प्रभाव पर्ने केही तत्व मिल्दोजुल्दो छन्।

यही बीचमा गत फेब्रअरीमा डाउ जोनले २९७५० को विन्दु कायम गरी  अमेरिकी सेयर बजारमा उछाल आयो। कोभिड–१९ को असर बढेपछि १८ हजारसम्म आएको बजार पुनः उकालो लागेर २८ हजारसम्म पुग्यो। यसरी अमेरिकी सेयर बजारमा उछाल आउनका केही कारण छन्।  

१. ब्याजदर : सेयर बजारलाई असर गर्ने प्रमुख तत्व भनेको ब्याज नै हो।  यूएस फेडरल रिजर्भ बैंकले ब्याजदर ०–०.२५ प्रतिशत कायम गरेको छ। जसका कारण सेयर बजारमा पुनः उछाल आयो। जति–जति पैसा सस्तो हुन्छ, त्यति नै सेयर बजार माथि जाने सम्भावाना बढी हुन्छ। 

अर्को प्रमुख तत्व भनेको संस्थागत लगानीकर्ता हुनु पनि हो। खासगरी युरोप र अमेरिकामा संस्था गत लगानीकर्ता बढी छन्। करिब ९० प्रतिशत व्यक्ति म्युचुअल फन्डमा लगानी गर्छन्। म्युचुअल फन्डसँग वित्त व्यवस्थापक हुने हुँदा बजार बलियो हुन्छ। 

२. राहत प्याकेज : कोभिड–१९ को असर बढेपछि अमेरिकी सरकारले २ ट्रिलियन डलरबराबर राहत प्याकेज ल्यायो। जसका कारण बजारमा र व्यक्तिमा पैसा पुग्यो। फलस्वरुप बजार बाउन्स ब्याक हुन पुग्यो। 

३. कोरोना भ्याक्सिनप्रति आशावादी लगानीकर्ता : युरोप तथा अमेरिकी लगानीकर्ता अहिले छिट्टै भ्याक्सिन आउने कुरामा आशावादी छन्। रिसर्च सेन्टरहरुका कोभिड–१९ विरुद्धको भ्याक्सिनको सफलतासँगै लगानीकर्तामा उत्साह कायम भएको छ। 

४. आईटी तथा उद्योग क्षेत्रमा शून्य प्रभाव : कोभिड–१९ को असर अमेरिकी आईटी कम्पनीमा खासै असर परेन। किनकि आईटी कम्पनीका कर्मचारीले घरमै बसेर काम गरे।  फेसबुक, अमेजन, बर्कशायर हाथ्वेजस्ता कम्पनीहरु चली नै रहे भने उद्योगहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर काम गराइयो। जसले गर्दा उद्योग र आईटी क्षेत्रमा खासै असर गरेन। 

५. नजिकिँदो अमेरिकी चुनाव :  सेयर बजारमा चुनावको ठूलै महत्व राक्छ।  खासगरी संसारकै लगानीकर्ताले  कन्झर्भेटिभ पार्टीभन्दा उदारवादी अर्थतन्त्र अँगाल्ने पार्टीलाई रुचाउने हुँदा आगामी झन्डै ४० दिनपछि हुने  अमेरिकी चुनाव अमेरिकाले मात्रै नभएर सारा विश्वले नै नजिकबाट नियालेको विषय हो। अमेरिकाको चाइनासँगको व्यापार युद्धले पूरै संसारलाई असर गरेको हुन्छ। यदि अमेरिकामा डेमोक्रेटिक पार्टीले चुनाव जित्यो र त्यही बेलामा कोभिड–१९ को भ्याक्सिन तयार भयो भने डाउ जोन इन्डस्ट्रियल ४० हजारसम्म पुग्ने सक्ने देखिन्छ। किनकि लगानीकर्ताको मनोबल उच्च भयो भने नै सेयर बजारमा उछाल आउने हो। 

के होला अब नेपालको सेयर बजारको बाटो ?

अल्पकालका लागि सेयरबजारको भविष्यवाणी गर्नु भनेको, त्यो एउटा अनुमानमात्रै हो। प्राविधिक रुपमा सेयर बजारको रेखा हेरेर आगामी दिनको बजारको बाटो बताउनु र हत्केलाको रेखा हेरेर ज्योतिषीले कुनै व्यक्तिको आयु बताउनु ‘उस्तै–उस्तै’ हो। त्यसमा केही आधार त हुन्छ तर सतप्रतिशत ग्यारेन्टी हुँदैन। त्यसैले लगानीकर्ताले अल्पकालका लागिभन्दा पनि दीर्घकालीन लगानी गर्ने र ‘अहिलेको मेरो लगानी कम्तीमा २०८० सालसम्मका लागि हो’ भनेर दीर्घकालीन लगानी गरे नेप्सेले एकपल्ट अहिलेसम्मकै उच्च विन्दु अर्थात् २५ सयसम्मको यात्रा तय गर्न सक्छ। तर त्यसबीचमा १००–२०० अंकको करेक्सन भने पक्कै हुन्छ। 

बजार माथि पुग्छ भन्ने केही आधार छन्। जस्तै कुनै बेला ११७५ मा उच्च विन्दु बनाएको बजारले झन्डै ४०५ ले करेक्सन गरेर ९ सयलाई आधार बनाएर त्यसको डबल १८ सय भयो।  अहिले ११ सय लाई आधार बनाएको बजारले अबको बुलमा त्यसको डबल २२ सयभन्दा माथि हुने सहज अनुमान गर्न सकिन्छ। यसका लागि केही बलिया पक्ष छन्। अहिले बजारमा प्रविधिले ठूलो फड्को मरेको छ। अनलाइनको सुविधा लिएर देशबाट भन्दा विदेशबाट सेयर खरिद गर्नेहरु बढी छन्। रेमिटेन्स सीधै सेयर बजारमा लगानी हुँदैछ। 

कोभिड–१९ को यस्तो अवस्थामा पनि रेमिटान्स बढी नै राखेको छ भने सेयर बजार दीर्घकालमा नबढ्ला ? अमेरिकी लगानीकर्ताजस्तै नेपाली लगानीकर्ता पनि कोभिड–१९ को भ्याक्सिन बन्ने र आगामी चुनावमा डेमोक्रेटिक पार्टी अगाडि आउने आशा राखेकोले  नेपालको सेयर बजार र अमेरिकी सेयर बजारका लगानीकर्ताको मनोभावाना उस्तै–उस्तै देखिन्छ र एकपटक नेपालको सेयर बजारमा पनि बबल आउने निश्चित छ। 

लगानीकर्ताले जहिले पनि राम्रा कम्पनी घटेको समयमा किन्ने अवसर छुटाउनु हुन्न। सही समयमा सही कम्पनीको सेयर खरिद गर्नु नै सेयरबजार को मज्जा हो।