काठमाण्डौ । धितोपत्र बजार भन्नाले १ वर्षभन्दा बढी समयमा परिपक्व हुने वित्तीय सम्पत्ति वा साधनहरुको खरिदबिक्री भन्ने बुझाउँछ ।

दीर्घकालीन पूँजीको आवश्यकता परिपूर्ति गर्न चाहने ऐनअनुसार स्थापित संगठित संस्थालाई पूँजी परिचालनका लागि संयन्त्र प्रदान गर्ने र व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई लगानीको अवसर प्रदान गर्ने बजार नै धितोपत्र बजार हो । धितोपत्र बजारलाई मुख्यतया प्राथमिक र दोस्रो बजार गरी २ भागमा विभक्त गरिन्छ ।

प्राथमिक बजार
ऐनअन्तर्गत स्थापित संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक रुपमा धितोपत्र निष्कासन गरी आफूलाई आवश्यक पर्ने दीर्घकालीन पूँजी प्राप्त गर्ने बजारलाई प्राथमिक बजार (प्राइमरी मार्केट) भनिन्छ । प्राथमिक बजार अन्तर्गत प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ), हकप्रद, बोनस सेयर निष्कासन, फर्दर पब्लिक अफरिङ(एफपीओ) र बुक बिल्डिङद्वारा आइपीओ निष्कासन हुने गर्दछ ।

प्राथमिक बजारमा कसरी सहभागी हुने ?
प्राथमिक बजारमा सहभागिता जनाउन बैंक खाता, डिम्याट खाता, ‘मेरो सेयर’ सुविधा, सीआरएन नम्बर आवश्यक पर्छ ।

सार्वजनिक निष्कासनमा धितोपत्र खरिद आवेदन गर्न बैंक खाता, डिम्याट खाता, ‘मेरो सेयर’ सुविधा, सीआरएन नम्बर चाहिन्छ । आस्वा र सिआस्वा दुवै माध्यमबाट पनि प्राथमिक बजारमा धितोपत्र खरिद गर्न सकिन्छ ।

प्राथमिक सेयर निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँटपछि आवेदकको बाँडफाँटमा परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने प्रणालीलाई आस्वा प्रणाली भनिन्छ । हाल यो सुविधा कुल ६५ बैंक तथा वित्तीय संस्थाका देशभरका शाखामार्फत ७७ वटै जिल्लामा उपलब्ध छ । 

आस्वा प्रणालीअन्तर्गत सार्वजनिक निष्कासन हुँदा आवेदकको डिम्याट खाता रुजू गर्ने तथा प्राप्त भएका आवेदनहरुको विवरण प्रविष्टि गर्न आस्वा बैंक तथा निष्कासन तथा बिक्री प्रबन्धकका लागि तयार पारिएको केन्द्रीकृत सफ्टवेयरलाई सिआस्वा भनिन्छ । धितोपत्रको सार्वजनिक निष्कासनमा आवेदक स्वयम्ले इन्टरनेटमार्फत वा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सिआस्वा फाराम भरी धितोपत्र खरिदका लागि आवेदन दिनसक्नेछन् ।

हिजोआज सीडीएससीको ‘मेरो सेयर’ पोर्टल वा एप्समार्फत सार्वजनिक निष्कासनमा आवेदन दिन थालिएको छ, जसले धेरै सहज पनि तुल्याएको छ ।

कसरी र कहिले दिने आइपीओमा आवेदन?
नयाँ संगठित संस्थाले आइपीओ वा एफपीओ निष्कासन गर्दा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले निष्कासन मितिअगावै सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान छ। हिजोआज प्रायः शुक्रबार प्राथमिक सेयर निष्कासन हुने ट्रेन्ड छ । प्राथमिक सेयर निष्कासनमा निष्कासन अवधि छिटोमा ४ दिनको हुन्छ । सो ४ दिनकै अवधिभित्र हिजोआज निष्कासन गरिएका कुल सेयरमा आवेदनको ओइरो लाग्ने भएकाले निष्कासन अवधि लम्बिँदैन । हिजोआज साधारणतया शुक्रबार कुनै पनि कम्पनीका सेयर निष्कासन भएमा मंगलबारसम्म उक्त कम्पनीमा आवेदन दिन सकिन्छ ।

सीडीएससीको ‘मेरो सेयर’ पोर्टल वा ‘मेरो सेयर’को मोबाइल एप्समार्फत सहजै प्राथमिक सेयर निष्कासनमा आवेदन दिन सकिन्छ।