काठमाण्डौ । कोरोनाभाइरसको औषधि वा भ्याक्सिन विकासित गर्न अहिले विश्वका अधिकांश देशमा शोध तथा अनुसन्धानहरु भइरहेका छन्।

यही शोध तथा अनुसन्धान कार्यहरुबीच एउटा हल्ला ‘भुसमा आगो’ फैलिएरसरह भएको छ। त्यो हो– गरिब देशहरुलाई त्यस्ता औषधि वा भ्याक्सिनको प्रयोगका लागि दुरुपयोग गर्न लागिएको। 

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो हल्ला निराधार भएको जनाएको छ। 

कुनै पनि देशलाई बनाइएको छैन ‘गिनी पिग’

हालै एउटा प्रेस कन्फ्रेन्सका क्रममा डब्ल्यूएचओका प्रमुख टेड्रोस ऐडहेनाम ग्याब्रेससले कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि प्रयोगका लागि गरिब देशहरुलाई छनोट गरी दुरुपयोग गरिरहेको भन्ने हल्ला निराधार भएको बताएका छन्। ‘कुनै पनि गरिब देशहरुलाई शोधका लागि ‘गिनी पिग’ बनाइएको छैन’, दाबी गर्दै उनले भने, ‘न त कुनै पनि अफ्रिकी देशहरुलाई कोभिड–१९ महामारीको औषधिमाथि शोध गर्न परीक्षणस्थल नै बनाइएको छ।’

चार भ्याक्सिनमा भइरहेको छ परीक्षण

प्रमुख टेड्रोसले डब्ल्यूएचओ अहिले चारवटा भ्याक्सिनको परीक्षणमा रहेको खुलासा गरेका छन्। यसमा करिब ४० देशको सहभागिता रहेको उनले जानकारी दिएका छन्। ‘यी सबै देशमा एउटै किसिमको प्रोटोकल वा सर्त अपनाइएको छ’, उनले भनेका छन्, ‘त्यसैले कुनै पनि देशलाई ‘गिनी पिग’ बनाइएको छ भन्ने प्रश्नै उठ्दैन।’

समान नियम

टेड्रोसले कुनै पनि भ्याक्सिन वा औषधिको परीक्षणका लागि कुनै महाद्वीप वा देशलाई निशाना बनाएर परीक्षणस्थलका रुपमा प्रयोग गरिनेमा डब्ल्यूएचओलाई मान्य नहुने बताए। उनले कोरोनाविरुद्ध विकसित भ्याक्सिनको छिटै क्लिनिकल ट्रायल सुरु हुने बताए। ‘डब्ल्यूएचओ यस्ता क्लिनिकल ट्रायलमा समान प्रोटोकल वा दिशानिर्देश लागू हुनुपर्ने मान्यता राख्छ’, उनले भने। 

शोधमा ‘गिनी पिग’ को प्रयोग

इतिहासका पाना पल्टाउने हो भने ‘गिनी पिग’को प्रयोग पूर्वी देशहरुमा निकै लामो समयसम्म औषधिमाथिको शोधमा हुँदै आएको छ। सत्रौँ शताब्दीदेखि बीसौँ शताबन्दीसम्म यसलाई औषधि विकासको शोधमा प्रयोग गरिँदै आएको छ। 

सन् १८०९ मा डिप्थेरिया रोगबाट बचाउन यिनै गिनी पिगका माध्यमबाट एन्टीटोक्सिन विकसित गरिएको थियो। 

सन् १९०१ मा यही गिनी पिगमा गरिएको शोधबापत एमिल एडोल्फ वनलाई मेडिसिन क्षेत्रमा नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो। उनले डिप्थेरियाको उपचारमा सहायक सिरम थेरेपी गिनी पिगकै माध्यमबाट विकसित गरेका थिए। 

समयका साथ परिवर्तन हुँदै जाँदा शोधका माध्यमहरु अन्य जनावर पनि हुन थाले। जसमा मुसा, बाँदर आदि छन्। 

पाल्तु जनावर हो ‘गिनी पिग’

गिनी पिग वास्तवमा एउटा सानो पाल्तु जनावर हो। यसलाई क्याभी पनि भनिन्छ। 

आश्चर्यजनक कुरा यो हो कि नामअनुसार यसको सम्बन्ध कुनै पनि सुँगुर वा पिग प्रजातिसँग छैन। यो क्याभिदाई प्रजातिको सदस्य हो। यसको नामको ओरिजनदेखि आजसम्म पत्ता लागेको छैन। 

मूलतः यो दक्षिण अफ्रिकामा पाइने जनावर हो। – एजेन्सी