काठमाण्डौ । धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने भएको छ । नेपालमा हालसम्म बन्दमुखी म्युचुुअल फण्ड मात्र संचालनमा छन् ।
कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई खरीद वा बेच्न सकिने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ । यस्तो स्किमको बन्दमुखीजस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन । अहिलेजस्तो इकाईमा लगानीको अवसर खुलेको बेला वा दोश्रो बजारबाट मात्र यस्तो फण्डमा लगानी गर्नुपर्ने बाध्यता खुलामुखी स्किम आएपछि हट्नेछ । योबेला थोरै थोरै पैसा जोगाएर समेत यस्ता स्किमहरुमा लगानी गरिरहन पाइन्छ । यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन ।
बोर्डले यदि यस्तो फण्डलाई कार्यान्वयनमा ल्यायो भने दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएका, थोरै थोरै लगानी गर्न इच्छुक सर्वसाधारणलाई निकै ठूलो राहात हुने अपेक्षा गर्न सकिन्छ ।
बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज संचालनको सहजीकरण गर्ने योजना समेत सार्वजनिक गरेको छ । यस्तै, चालुु आर्थिक वर्षभित्रै धितोपत्र बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्ने सम्बन्धी अध्ययन गर्न समिति गठन भइसकेको उल्लेख गर्दै सो सम्बन्धमा आवश्यक कार्यविधि बनाउने, आर्थिक वर्ष २०७५/७६ देखि दोश्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बर(पान)लाई अनिवार्य गर्ने र त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने आफ्ना कार्ययोजना समेत सार्वजनिक गरेको छ । बोर्डले विभिन्न नगरपालिकाहरुले निश्कासन गर्ने ऋणपत्र म्युनिसिपल बण्ड निश्कासन सम्बन्धी आवश्यक व्यवस्था, अग्राधिकार सेयर र ऋणपत्रको विकासका लागि नीतिका सम्बन्धमा अध्ययन गर्ने समेत बताएको छ ।
चालुु आर्थिक वर्षभित्र हुने कामहरुको बिषयमा बोर्डले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको अन्य कार्ययोजना यस्तो छ:
- सूचिकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई लागू गर्ने,
- धितोपत्र व्यवसायीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन तयार गरिएको सुपरभिजन म्यानुुअलको प्रभावकारी कार्यान्वयन गर्ने,
- भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सम्बन्धी अध्ययन गरी आवश्यक नियम बनाउने,
- बोर्डको कम्तिमा ५१ प्रतिशत सेयर भएको धितोपत्र बजार प्रशिक्षण संस्था स्थापना गर्ने,
- कमोडिटी डेरिभेटिभ्स बजारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ प्रमाणिकरण भई आएपश्चात् लागू गर्न नियमावली बनाई सो बजारलाई नियमनको दायरामा ल्याउने,
- धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएका लगानी कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय स्थापित गरी आवश्यक कार्य अगाडि बढाउने,
- पुँजी बजार प्रदर्शनी आयोजना, धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार आयोजना, धितोपत्र बजार सम्बन्धी हुलाक टिकट प्रकाशन, सेबन जर्नल प्रकाशन, रु.५०,०००।– रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार लगायतका कार्यक्रमसहित रजत जयन्ती वर्ष भव्य रुपमा मनाउने,
- धितोपत्र सम्बन्धी तथ्याङ्कको समूचित व्यवस्था गर्ने र धितोपत्र बजार सम्बन्धी अध्ययन-अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने,
- इन्टरनेटमार्फत धितोपत्र खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था कार्यान्वयमा ल्याउने,
- धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र (मार्जिन ट्रडिङ्ग, धितोपत्र व्यापारी सेवा) विस्तार सम्बन्धमा अध्ययन गर्ने,
- निश्चित संख्यासम्मको अभौतिकृत हुन बाकीँ धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिबृद्धि गर्न अभौतिक धितोपत्र कारोवार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने,
- धितोपत्र बजार सम्बन्धी जानकारी तथा सचेतना अभिबृद्धि कार्यक्रम व्यापक रुपमा संचालन गर्ने ।
साथै, वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्ने, नेप्से तथा सीडिएससीको प्रणालीको संपरिक्षण गर्न सहजीकरण गर्ने, छुट्टै नियमन निकाय नभएका सूचिकृत कम्पनीहरुको नियमन तथा सुपरिवेक्षण गर्ने, नेप्से तथा सिडिएससीको पुर्नसंरचनामा सहजीकरण गर्ने, बोर्डको संचालन स्वायत्तता बढाउने, धितोपत्रको दोस्रो बजार कारोवारलाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन सेटलमेन्ट ग्यारेन्टी फण्डको व्यवस्थाका लागि सहजीकरण गर्ने, बोर्डको आफ्नै कार्यालय भवन बनाउन आवश्यक कार्य अगाडि बढाउने जस्ता कार्यक्रमहरु समेत रहेका छन् ।