-सन्दीप पौडेल
धितोपत्रमा गरिने लगानी सामन्यतया अरु क्षेत्रहरुमा गरिने लगानी भन्दा धेरै जोखिम हुने र प्रतिफल पनि अरु क्षेत्रहरुभन्दा धेरै हुने गर्छ । धितोपत्र बजारमा खरिदबिक्री हुने धितोपत्रको दुईप्रकारले विश्लेषण गरिन्छ । आधारभूत विश्लेषण र प्राबिधिक विश्लेषण , जसको उद्देश्यहरु  फरक फरक छन् । आधारभूत विश्लेषणको प्रमुख उद्दश्य भनेको दीर्घकालीन लगानीमा मनग्य प्रतिफल हेर्ने हो भने प्राविधिक विश्लेषणको प्रमुख उद्दश्य भनेको छोटो अवधिमा नाफा आर्जन गर्नु हो । यी दुई विश्लेषणको आधारमा हर कोही धितोपत्र कारोबारीले सेयर खरिदबिक्री गर्दछन । 

छोटो अवधिमा नाफा आर्जन गर्न चहाने सेयर कारोबारीले प्राविधिक विश्लेषणको अनुसरण लिने गर्दछन्, जसमा विभिन्न चार्ट र तथ्यांकहरुमा केन्द्रीत रही बजारको गति, दिशा र कम्पनीको सेयरको बजार मूल्य घटबढ हुन्छ भनेर अनुमान गर्ने गरिन्छ भने आधारभूत विश्लेषणले बजारबाट स्वतन्त्र  रही देशको आर्थिक क्रियाकलाप, सुक्ष्म अर्थशास्त्र आदिको माध्यमबाट कम्पनीको वृद्धिको संभावना, लाभांश अनुमान, कम्पाउण्ड रिटर्न आदि पक्षहरुको गहिरो अध्ययन गर्ने गरिछ ।  

नेपाली पुँजीबजारमा हेर्ने भने सेयर लगानीकर्ताहरु भन्दा अल्पकालीन सेयर कारोबारीहरुको बजारमा सक्रियता देखिन्छ । नेप्से परिसूचकमा हुने तीब्र उतारचढावमा सक्रियता पनि अल्पकालीन सेयर कारोबारीकै बढी हुने गर्छ । तर नेपाली पुँजीबजारमा जति पनि सेयर लगानीकर्ता छन्, धेरैजसोमा बित्तीय ज्ञानको र लगानी रणनीतिको अभाव हुँदा लगानीकर्ताहरुले जोखिम धेरै मोलिरहेका छन् र घाटा पनि धेरै व्यहोरिरहेका छन् । 

भ्यालु इन्भेष्टरका पिता बेन्जामिन ग्राहामले आफ्नो चर्चित पुस्तक 'द इन्टलिजेन्ट इन्भेष्टर'मा लेखेका छन्-इन्भेस्टमेन्ट भनेको त्यो लगानी हो, जसमा प्रतिफलको सुनिश्चितता, जोखिम कम, रिटर्नको अनुमान र ब्यवसायप्रति उत्तरदायी जस्ता गुण हुने गर्दछ भने अन्य ढंगले लगानी गर्नु भनेको स्पेक्युलेसन यानी सट्टेबाजी गर्नु हो, जसको न त प्रतिफलको सुनिश्चितता हुन्छ न त रिटर्नको अनुमान लगाइन्छ । 

यही सिलसिलामा इन्भेस्टोपिडियाले गरेको सर्वेक्षण अनुसार  बिश्व पुँजीबजारमा के भ्रम सिर्जना भएको छ भने सेयर कारोबार गर्ने लगानीकर्ताहरुमा कम्पनीको बजारमा कारोबार भएको रकम, भोल्युम र स्टाटसलाई प्राथमिक आधार मानी  लगानीकर्ताहरुले सेयर खरिदबिक्री गर्ने गरेको देखिन्छ जब कि लगानीको सिद्धान्त अनुसार कम्पनीको प्रोफाइल, ब्यवस्थापन  र बित्तीय स्वस्थतालाई प्राथमिक आधार मानी सेयर खरिदबिक्री गर्नुपर्छ । 

यही सन्दर्भमा लगानी र  सट्टेबाजीका भिन्नता यस प्रकार छन्:  
इन्भेस्टमेन्ट
स्पेक्युलेसन

१) लगानीको लक्ष्य दीर्घकालीन समयावधिको लागि हुने गर्दछ ।  
१) सेयर कारोबारको उद्देश्य अल्पकालीन समयावधिका लागि हुने गर्दछ ।

२) जोखिम सट्टेबाजी हेरिकन धेरै थोरै हुनेगर्दछ ।
२) जोखिमको भार एकदम धेरै हुनेगर्दछ ।

३) इन्भेस्टमेन्ट आधारभूत विश्लेषणमा केन्द्रित हुन्छ ।
३) स्पेक्युलेसन प्राबिधिक विश्लेषणमा केन्द्रित हुन्छ ।

४) इन्भेस्टमेन्टमा संरक्षण र सतर्क हुनेगर्दछ ।
४) स्पेक्युलेसन संरक्षणको बिपरित आक्रामक हुनेगर्छ ।