– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेको करिब २० महिना भइसकेको छ। त्यसपछि भने बजार लगातार घटिरहेको छ। 

करिब १ वर्षपहिले १८०७ को न्यून विन्दुको लो लगाएको बजार अहिले पनि १८०० कै आसपास घुमिरहेको छ। १८०० आसपासको विन्दुलाई धेरैपटक टेस्ट गरेको बजारमा पछिल्लो दुई कारोबारमा हरियाली छाएको छ। 

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल लामो समयदेखि बजार एउटै विन्दु वरिपरि घुमिरहनुले पनि बजारले माथिल्लो लय समाउने कोसिस गरेको अनुमान लगाउन सकिने बताउँछन्। ‘सेयर बजार र ब्याजदरको सम्बन्ध सधैँ उल्टो हुने भएकोले ब्याजदर बढेका बेला बजार लगातार घटेको थियो’, उनले भने, ‘अहिले भने ब्याजदर घट्दै गएकोले पनि बजार विस्तारै बढ्दै जाने देखिन्छ।’

अहिले बजारमा देखिने गरी नीतिगत परिवर्तन नभए पनि बजारका लागि सकारात्मक माहोल बन्दै गएको फुल्लेलको भनाइ छ। ‘त्यसैले पनि बजार विस्तारै बढ्दै जाने अनुमान गर्न सकिन्छ’, उनले भने। 

पछिल्लो समय प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर पनि पुँजीबजारप्रति सकारात्मक नै रहेको फुल्लेल बताउँछन्। ‘आउने बजेटले बजारलाई सम्बोधन गर्ने आशामा लगानीकर्ता रहेका कारण पनि बजारमा सुधार हुँदै गएको देखिन्छ’, उनले भने, ‘अब आउने मौद्रिक नीतिमा बजारलाई कसेका नीति पनि केही न केही परिमार्जन हुने लगानीकर्ताले अनुमान गरेका हुन सक्छन्।’

फुल्लेल सबै कुरा सकारात्मक भइसक्दा बजार निकै माथि पुगिसक्ने आँकलन लगानीकर्ताहरुले गरिसकेको हुन सक्ने बताउँछन्। ‘त्यसैले अहिलेदेखि नै लगानीकर्ताले विस्तारै बजारमा लगानी बढाएको हुन सक्छ’, उनले भने, ‘सोही कारणले पनि पछिल्लो २ कारोबारमा बजार सकारात्मक बनेको हुन सक्छ।’ 

अर्का बजार जानकार केशव कोइराला बजार न्यून विन्दुमा आएकोले पनि अब बिक्री गर्ने लगानीकर्ताको संख्या घट्दै गएको बताउँछन्। ‘उच्च विन्दुमा पुगेको ब्याजदर घट्ने क्रम जारी छ, बैंकहरुमा लगानीयोग्य रकममा पनि सुधार आउँदैछ’, उनले भने, ‘यतिबेला राम्ररी अध्ययन गरेर लगानी गर्ने लगानीकर्ताले हिजोको उच्च विन्दुको मूल्य र आजको न्यून विन्दुको मूल्यलाई दाँजेर हेर्दा पनि बजारमा लगानीका लागि अवसर आएको बुझेका हुन सक्छन्।’

ठूला लगानीकर्ताले पनि बजारलाई योभन्दा तल झार्न नसक्ने देखेर विस्तारै खरिदमा लागेको कारण पनि बजारमा सुधार आएको हुन सक्ने कोइरालाको भनाइ छ। ‘अब आउने बजेटले पनि बजारलाई केही न केही सम्बोधन गर्ने आशमा लगानीकर्ता बजारमा छिरेका हुन सक्छन्’, उनले भने, ‘राष्ट्र बैंकले कुनै पनि बेला परिस्थिति हेरेर केही खुकुलो हुने संकेत दिँदै आएको पनि छ। नीतिमा खुकुलो हुने संकेत देखेर केही पहिलेदेखि नै लगानीकर्ता खरिदमा लाग्दा पनि बजार बढेको हुन सक्छ।’

‘बजार पहिले पनि एकैपटक बढेर ३२०० पुगेको होइन, विस्तारै बढेर त्यो विन्दुमा पुगेको हो’, कोइरालाले भने, ‘त्यसैले अब पनि बजारले विस्तारै हाई बनाउँदै जानेछ। अहिलेको संकेत बजार सुधार हुने नै देखिन्छ। उच्च विन्दुमा फसेका लगानीकर्ताले पनि अहिले बिक्री गर्नुभन्दा होल्ड गरेमा नाफा कमाउन सक्छन्।’