काठमाण्डौ । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन छिटोमा सोमबारदेखि र्यापिड टेस्ट थाल्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार मन्त्रीपरिषदबाट भएको निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै सोमबारदेखि ती तीन जिल्लामा द्रूत गतिको टेस्ट हुन लागेको जानकारी दिए ।
क्याबिनेटको निर्णयको पालना गर्दै आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त बैठक बसेको र त्यसले विशेष टोली तयार गरी आइतबार नै ती जिल्लाका लागि पठाउने निर्णय गरेको डा. देवकोटाले जानकारी दिए ।
‘विशेष टोली छिटोमा सोमबारसम्म त्यहाँ पुगी काम थाल्नेछ ।’ उनले थपे–‘हामी सकेसम्म संभावित सबै संक्रमितको र्यापिड टेस्ट गर्नेछौ ।’
कोरोना भाइरसको संक्रमित भेटिएसँगै कैलाली, कञ्चनपुर र बाग्लुङमा विशेष सतर्कता अपनाइएको छ । कैलाली र कञ्चनपुरमा विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण फेला परेको थियो । दुबईबाट दिल्ली हुँदै काठमाण्डौ आई कैलाली पुगेका एक व्यक्तिबाट उनकी भाउजूमा समेत कोरोना भाइरस सरेपछि लोकल ट्रान्समिसनको चरण(संक्रमणको दोश्रो चरण) सुरु भएको भन्दै सरकारले सुदुरपश्चिमका ती जिल्लामा द्रूत गतिमा टेस्ट गर्ने शनिवार निर्णय गरेको थियो ।
कोरोना संक्रमितमध्ये केहीलाई बाग्लुङ अस्पतालमा समेत राखिएको छ । यसकारण बाग्लुङमा पनि संक्रमण समुदायमा नफैलियोस् भन्ने उद्देश्यले द्रूत गतिको टेस्ट गर्न लागिएको छ ।
द्रूत गतिको टेस्टको मोडालिटीको प्रारम्भिक प्रारुप समेत तयार भएको डा. देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार कैलाली र कञ्चनपुरका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिको प्राथमिकताका साथ स्वाब परीक्षण गरिनेछ । बाग्लुङमा संक्रमितको बासस्थान वरिपरि र उनीहरुसँग सम्पर्क गरेका व्यक्ति तथा चैत महिनामा बाहिरबाट जिल्ला प्रवेश गरेका व्यक्ति र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि टेस्ट हुनेछ ।
ती संभावित संक्रमित सबैको र्याडिप डाइग्नोष्टिक टेस्ट(आरडीटी) हुनेछ । सो क्रममा जसको रिपोर्ट पोजिटिभ आउँछ, उसको पुनः पीसीआर परीक्षण गरी यकिन गर्ने काम गरिन्छ । त्यसरी निस्किने नतिजाका आधारमा संभावित अरुको समेत द्रूत गतिमा परीक्षण गर्ने व्यवस्था मिलाइएको डा. देवकोेटाले जानकारी दिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19