काठमाण्डौ । नेपालका हरेक ठूला चाडपर्वहरुमा घर–घरमा खपत हुने पेय पदार्थमध्येमा कोक, फेन्टा र स्प्राइटको बोलवाला चल्छ । 

घरमा आउने पाहुनाहरुलाई सत्कारको रुपमा दिनलाई होस् वा कहीँ कतै जाँदा कोशेलीको रुपमा लान नै किन नहोस्, पछिल्लो समय नेपाली समाजमा कोक, फेन्टा, स्प्राइट लगायतका पेय पदार्थहरुको प्रयोग अत्यधिक बढिरहेको छ । 

तर, यी पेय पदार्थहरुको प्रयोग जसरी बढिरहेको छ, उसैगरी यिनीहरुको निर्वाध उपभोग मानव स्वास्थ्यका लागि जोखिमपूर्ण छ कि छैन ? नेपालमा खोजी नै भएको छैन । 

अर्गानिक उत्पादनका लागि भारतसहित नेपालमा समेत अभियान चलाइरहेका रामदेव बाबाले आफ्ना प्रवचनहरुमा कोकलाई ट्वाइलेट सफा गर्ने तरल पदार्थ(ट्वाइलेट क्लिनर) भन्ने गरेका छन् । उनले यसो भन्नु पछाडिको कारण कोक बनाउँदा प्रयोग हुने वस्तुहरुले गर्दा हो । फोहोरले कटकटिएको ट्वाइलेट सफा गर्ने केमिकलसहित तयार भएको कोक मानिसहरुले निर्वाध पिउँदा स्वास्थ्यमा कुन हदसम्मको असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ । 

त्यसो त नेपालीहरुले पनि मन पराउने कोकाकोला, फेन्टा, स्प्राइट जस्ता उत्पादन गम्भीर बिरामीका कारक बन्नसक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ठूला रिसर्चहरुले देखाइसकेका छन् । रिसर्चहरुले क्यान्सर रोगको मुख्य कारणमध्येको एक यस्ता पेय पदार्थको नियमित प्रयोग पनि रहेको निश्कर्ष एकपटक होइन, कैयौं पटक निकालिसकेका छन् । तर, यस्ता तथ्यतर्फ ध्यान नै नदिई यस्ता पेय पदार्थहरुले गर्ने आकर्षक विज्ञापनको पछि लागेर नेपाली उपभोक्ताले स्वास्थ्यमा गम्भीर असर पर्ने तत्वहरु मिश्रित कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइटजस्ता घातक पेय पदार्थ निर्वाध पिइरहेका छन् । 

यस्ता पदार्थहरुको प्रयोग ठूला चाडपर्वमा झनै बढी हुने गर्दछ । पाहुनालाई पानीमा कागती हालेर दिनुको सट्टा कोक, फेन्टा, स्प्राइट दिने प्रचलनले घर गरिसकेको छ । 

नेपालको सेयर बजारमा सूचीकृत कम्पनीमध्येको एक बोटलर्स नेपाल लिमीटेड हो । यही कम्पनीले कोकाकोला, फेन्टा, स्प्राइट लगायतका जनस्वास्थ्यमा घातक असर गर्ने पेय पदार्थहरु नेपालमा उत्पादन र बिक्रीवितरण गर्दै आएको छ। 

यस्तो छ रिसर्चहरुको निचोड
विश्व स्वास्थ्य संगठनले सन् २०२३ को जुलाईमा सार्वजनिक गरेको एक अध्ययनको निश्कर्षमा कोक, फेन्टा लगायतको नियमित प्रयोग मानव स्वास्थ्यका लागि घातक रहेको देखिएको थियो । 

कोक, डाइट कोक जस्ता पेय अतिरिक्त मिठास थपेर बनाइएका र सोडा मिसाइएका पदार्थहरु क्यान्सरको प्रमुख कारक समेत रहेका सो क्रममा बताइएको छ । 

क्यान्सरको असुन्धानका लागि अन्तराष्ट्रिय एजेन्सी, एक डब्ल्यूएचओ निकायले एस्पार्टम र हेपाटोसेलुलर कार्सिनोमा भनिने कलेजोको क्यान्सरको बीचमा सभावित सम्बन्ध पहिचान गरेको थियो । अमेरिका र यूरोपमा गरिएका तीनवटा ठूला मानव अध्ययनहरुको समीक्षा गरेपछि यस्तो निश्कर्ष निकालिएको थियो । कृत्रिम रुपमा तयार गरिएका मीठा यस्ता पेय पदार्थ निकै घातक रहेको सो क्रममा फेला परेको थियो । 

एस्पार्टमलाई कोक, डाइट कोक, पेप्सी जीरो सुगर र अन्य डाइट सोडाका साथै केही चुइगम र विभिन्न स्न्यापल पेयहरुमा चिनीको विकल्पको रुपमा प्रयोग गरिन्छ । ल्यान्सेट ओन्कोलोजीकाअनुसार, कृत्रिम रुपमा मीठो पेय पदार्थ ऐतिहासक रुपमा एस्पार्टमको जोखिमको सबैभन्दा ठूलो स्रोत मानिएको छ । 

अमेरिकास्थित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर(आइएआरसी)का एक वरिष्ठ अधिकारी डा. मेरी शुबाउर बेरिगनले एस्पार्टमलाई सम्भावित कार्सिनोजेन(क्यान्सरजन्य)को रुपमा वर्गीकरण गरिएको बताए। 

‘कन्सलटेन्ट३६० डटकम’मा प्रकाशित एक रिसर्च रिपोर्टका अनुसार कोला र अन्य सफ्ट ड्रिंक्समा बारम्बार प्रयोग हुने कारमेल कलरिङको उत्पादनमा जोड दिँदै मेथिलिमिडाजोल भनेर चिनिने कार्सिनोजेन पनि सिर्जना गरिएको छ, जसको सेवन गर्दा क्यान्सरको जोखिम उच्च हुन्छ । 

अध्ययनका लागि, अन्वेषकहरूले अमेरिकाको क्यालिफोर्नियामा खरिद गरिएका १२ पेय पदार्थका ११० वटा नमूनाहरू हेरेका थिए । सो क्रममा अधिकांशमा मानिसमा क्यान्सर हुने तत्वहरु पाइएको थियो । 

‘अमेरिकी जनसंख्याको एक ठूलो अंशले यी पेय पदार्थहरू उपभोग गर्दछ, र केही व्यक्तिहरूले उच्च उपभोग गर्दछ भन्ने कुरालाई ध्यानमा राख्दै, राष्ट्रिय रूपमा एनएसआरएलमा एक्सपोजरहरू कम भएतापनि पर्याप्त क्यान्सरको बोझ रहनसक्छ। तदनुसार, अनावश्यक फोर एमईआई एक्सपोजरहरू हटाउन संघीय नियमन आवश्यक हुनसक्छ।’ रिपोर्टमा भनिएको छ । 

अष्ट्रेलियाको लिडिङ क्यान्सर च्यारिटी क्यान्सर काउन्सिलको एक रिपोर्टअनुसार कोकाकोला, पेप्सीजस्ता सफ्ट ड्रिंक्स स्वास्थ्यका लागि राम्रो नरहेको र यस्ता पेय पदार्थ बढी पिउनाले तपाईमा क्यान्सरको जोखिम बढाइदिन्छ । 

क्यान्सर काउन्सिल भिक्टोरिया र मेलबर्न विश्वविद्यालयद्वारा गरिएको नयाँ अध्ययनले बाह्र वर्षको अवधिमा ३५,००० भन्दा बढी भिक्टोरियनहरूलाई विश्लेषण गरेको थियो । जसले कलेजो, अण्डाशय, प्यान्क्रियाज र पित्तथैलीलगायत मोटोपनासँग सम्बन्धित क्यान्सरका ३,२८३ केसहरू फेला पारेको थियो । 

क्यान्सर काउन्सिलको क्यान्सर एपिडेमियोलोजी र इन्टेलिजेन्स डिभिजनका एसोसिएट प्रोफेसर एलिसन होजले सो क्रममा भनेका छन्–‘मोटोपनाले क्यान्सरको जोखिम बढेको थाहा पाउँदा हामी छक्क पर्यौं । मोटोपनको कारक कोकाकोला, पेप्सीजस्ता सफ्ट ड्रिंक हुन भन्दा तपाईले पत्याउनुपर्ने हुन्छ ।’ 

‘अधिक तौल नभएका मानिसहरूले पनि नियमित रूपमा सफ्ट ड्रिंक्स पिएमा जोखिम बढेको पाइएको थियो।’–उनले थपे। 

क्यान्सर काउन्सिल भिक्टोरियाका सीईओ टोड हार्परले भने कि यी निष्कर्षहरूले मानिसहरूलाई यी पेयहरूको उपभोगमा कटौती गर्ने अर्को कारण प्रदान गरेको छ।

‘चिनीयुक्त पेय पदार्थले मोटोपना निम्त्याउने भनेर पहिले नै थाहा भइसकेको छ, जसले १३ प्रकारको क्यान्सरको जोखिमलाई धेरै बढाउँछ । अझ यस्ता पेय पदार्थमा प्रयोग हुने मीठो सोडा लगायतका तत्वले यो जोखिमलाई अझ बढाइदिन्छ ।’–उनले भने । 

अध्ययनको क्रममा यस्ता पेय पदार्थहरुको प्रयोगले क्यान्सर मात्र होइन, त्यसअघि टाइप टू मधुमेह, हृदयरोग, दाँत क्षय जस्ता जोखिम पनि निम्त्याउनेछ । 

उनीहरुले यस्ता पेय पदार्थ भन्दा पानी पिउँदा स्वास्थ्यलाई लाभ पुग्ने समेत सुझाव दिएका छन् । 

अध्ययनको क्रममा अष्ट्रेलियाका यूवा पूस्ता मात्र नभई, कोक, पेप्सी जस्ता पेय पदार्थ पिउनेहरुमा २ देखि १८ वर्ष उमेर समूहमा मानिस पनि देखिए । आधा त त्यस्ता थिए । 

सो क्रममा त्यहाँ पनि नेपालमा जस्तै कोक, पेप्सीजस्ता ठूला ब्राण्डहरुले गर्ने भ्रमपूर्ण विज्ञापनको कुरा गरिएको थियो । रिपोर्टमा भनिएको थियो–‘ठूला ब्रान्डहरूले बच्चा र युवाहरूलाई यी अस्वास्थ्यकर चिनीयुक्त पेयहरूको मार्केटिङको आकर्षक शैली प्रस्तुत गर्छन् । आकर्षक विज्ञापनको पछि लागेर यस्ता पेय पदार्थ पिउँदा त्यसले मानिसहरुको जीवनभर जटिल स्वास्थ्य समस्या निम्त्याइदिन्छ । क्यान्सरजस्तो घातक अवस्थामा पुर्याइदिन्छ ।’

मेडिकल न्यूज टूडेमा प्रकाशित एक रिपोर्टकाअनुसार कोलाजस्ता सफ्ट ड्रिंकमा प्रयोग हुने कारमेल कलरिङको निर्माणको क्रममा हुने रासायनिक प्रक्रियाले क्यान्सरको जोखिमलाई बढाइदिन्छ । प्रत्येक १ लाख मानिसहरुले यस्तो पेय पदार्थ सेवन गरेमा एकजनामा क्यान्सर हुने अध्ययनको क्रममा देखिएको त्यहाँ भनिएको छ ।

सेयर मूल्यमै उथलपुथल
इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर(आइएआरसी)ले सफ्ट ड्रिंकमा प्रयोग हुने सामान्य कृत्रिम मिठाई, एस्पार्टमलाई क्यान्सर गराउने सम्भावित कार्सिनोजेन घोषणा गरेको रिपोर्ट आएपछि अमेरिकाको कोका कोलाको स्टक मूल्यमै उथलपुथल भएको थियो । 

२०२३ जून २९ को दिन कोकाकोलाको सेयरमूल्य न्यूयोर्क स्टक एक्सचेञ्जमा अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले घटेर ६०.०२ डलरमा सीमित भएको थियो । 

विश्व स्वास्थ्य संगठनको रिपोर्टका आधारमा आईएआरसीले  कोकाकोला, डाइट सोडादेखि चुइगम र केही स्न्यापल पेय पदार्थहरुमा प्रयोग हुने एस्पार्टमलाई पहिलो पटक मानिसहरुलाई सम्भवतः क्यान्सरजनक रुपमा सूचीबद्ध गर्ने समाचारपछि कोकाकोला मात्र होइन पेप्सिकोको मूल्यमा समेत गिरावट आएको थियो । पेप्सीको सेयरमूल्य जून २८ मा नेस्डेगमा १.३५ प्रतिशतले घटेर १८३.७० डलरमा बन्द भएको थियो । 

कोकलाई अमेरिकी बजारमा धक्का लागेको त्यो नै पहिलो घटना भने थिएन । त्यसअघि फूटबलर क्रिस्टियानो रोनाल्डोले युरो २०२० को पत्रकार सम्मेलनमा मानिसहरूलाई कोकको सट्टा पानी पिउन सल्लाह दिएपछि त्यो सोडा कम्पनीको बजार मूल्य ४ अर्ब डलरमा सीमित बन्न पुगेको थियो । 

डब्ल्यूएचओको रिपोर्टपछि अमेरिका लगायतका विकसित देशमा हङ्गामा नै मच्चिएको थियो । त्यसपछि कोकाकोला, पेप्सीकोको व्यापारमा समेत तीव्र गिरावट आएको थियो । यो क्रमले त्यहाँ अझै निरन्तरता पाइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । 

तर, नेपालमा त्यो लेभलको सचेतना छैन । न सरकार, न त उपभोक्तावादी संघसंस्था नै यो विषयमा गम्भीर देखिन्छन् । यहीकारण विकसित देशहरुमा क्यान्सरको कारक मानिएका कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइटजस्ता कृत्रिम चिनी र मिठास मिसाइएका पेय पदार्थहरु नेपालमा निर्वाध बिक्री भइरहेको छ । यहाँ उत्पादन र बिक्रीवितरण हुने यस्ता कम्पनीको पेयहरुमा गरिएको मिसावट र त्यसबाट मानव स्वास्थ्यमा पर्नसक्ने असरको विषयमा हालसम्म कतैबाट पनि अनुसन्धान भएको छैन । अनि हामी ठूला चाडपर्व मनाउने नाममा विषलाई ‘मीठो पेय’ भन्दै पिइरहेका छौं ।