काठमाण्डौ । चीनको वुहानबाट फैलिएको कोभिड १९ भाइरसको संक्रमणका कारण नेपालमा एक चिनियाँ नागरिकको ज्यान गएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण नेपालमा रहेकी एक ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । 

बुधबार ती चिनियाँ महिलासहित एक नेपाली पुरुषको समेत कोरोनाकै कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । 

ती चिनियाँ महिला पोखरा बस्दै आएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई साउन २ गते काठमाण्डौको ग्राण्डी अस्पताल ल्याइएको थियो । सो क्रममा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने उनलाई शिक्षण अस्पतालमा सारेर उपचार गरिएको थियो । उपचारकै क्रममा अवस्था गम्भीर भई निधन भएको मन्त्रालयले जनाएको हो । 

यस्तै, कोभिडका कारण धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय पुरुषको पनि ज्यान गएको हो । उनमा ज्वरो तथा रुघाखोकीको समस्या थियो । समस्या जटिल बन्दै गएपछि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहँदा साउन ६ गते साँझ उनको मृत्यु भएको हो ।