काठमाण्डौ । कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ। 

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुनेछन्। पर्यटन प्रवर्द्धन का लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले जानकारी दिए। ‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ। तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ’, उनले भने। 

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने  सीईओ रेग्मीले जानकारी दिए। पछिल्लोपटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई टा हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ। 

पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको रेग्मीले जानकारी दिए। 

भारतमा हुने साटेमा  पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघसंस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ। भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ। 

कोभिडको संक्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतर्राष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रवर्द्धन को काम गरे पनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो। 

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो। गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए। 

यो वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटे पनि कोभिडको खोप आइसको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ। जसअनुसार सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन्।