नयाँदिल्ली । नेशनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्टेसन फर कोभिड १९(नेगभ्याक)ले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने विषयमा दिएको नयाँ मापदण्ड भारतको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ । नेगभ्याकले आफ्नो सिफारिसमा कोभिडबाट ठीक भएको तीन महिनापछि मात्रै कोरोना खोप दिन मिल्ने भनेको थियो । यो सुझावलाई स्वास्थ्य मन्त्रालयले मञ्जुरी दिएको भारतीय मिडियाहरुले जनाएका छन् । 

नेगभ्याकको सिफारिस अनुसार यदि कुनै व्यक्ति भ्याक्सिनको पहिलो डोज लगाएर पनि संक्रमित भयो भने उसका लागि दोश्रो डोज पनि कोरोनाबाट मुक्त भएको ३ महिनापछि मात्र दिइनेछ । यस्तै, स्तनपान गराइरहेका सबै महिलाहरुलाई समेत कोरोना भ्याक्सिन दिन सकिने सिफारिस समेत गरिएको छ । यसअघि स्तनपान गराइरहेकाहरुलाई भ्याक्सिन दिइएको थिएन । 

गर्भवती महिलाहरुलाई भ्याक्सिन दिन मिल्ने या नमिल्ने विषयमा चाहि अनुसन्धान भइरहेको बताइएको छ । 

यसैबीच, केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतका सबै राज्य सरकारलाई यो नयाँ मापदण्ड लागू गराउन पत्राचार गरेको समेत समाचारमा उल्लेख छ ।