काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटोछरितो बनाउन निर्देशन दिएका छन्। 

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायतका सामग्रीको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन्। एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे। 

अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिएका छन्। 

अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिडको रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए। 

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसँग समन्वय गरी चौबीसै घन्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए। 

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए।