काठमाण्डौ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजामा ३ हजार ५ सय १७ परिक्षार्थी उत्तीर्ण भएका छन् । 

मंगलबार सार्वजनिक परीक्षाफलको यस्तो नतिजा आएको हो । गएको असार ४ र ५ गते कोरियन भाषाको परीक्षा संचालन गरिएको थियो । परीक्षामा ५७ हजार १ सय २९ जना सहभागी थिए । 

यो वर्ष नेपालबाट ३ हजार १ सय कामदार लाने भन्दै कोरियाले कोटा छुट्याएको थियो, तर तोकिएको कोटाभन्दा परीक्षामा ४१७ जना बढी उत्तीर्ण भएका छन् । 

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि क्षेत्रमा कति–कति जना पास भए भन्ने छुट्याइसकिएको छैन । उनले भाषा परीक्षा उत्तीर्ण सबैजना कोरिया जाने निश्चित नभएको बताए । 

परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपी(epsnepal.gov.np)मा हेर्न सकिन्छ ।