– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेकोले सेयर कारोबार भएन। आज ब्रोकर कम्पनीहरु पनि बन्द भएकोले हामीले लगानीकर्ताका विचार ब्रोकर हाउसका सट्टा क्लब हाउसबाट बुझ्ने कोसिस गरेका छौँ। 

आज खासगरी कोरियामा बिदा भएकोले हामीले त्यहाँ बसेर नेपालको सेयर बजारमा लगानी गर्ने नेपाली लगानीकर्ताहरुको सेयर कारोबार, उनीहरुको समस्या तथा अनुभव बुझ्ने कोसिस गरेका छौँ। 

कोरियामा रहेकी एक महिला लगानीकर्ताले बजार घटेकोमा गुनासो गर्दै भनिन्, ‘अहिले त बेच्ने समय नै होइन। बैंक पनि एक वर्ष पहिलाको मूल्यमा आएका छन्। धेरैले घटेका छन्, त्यसैले अहिले मूल्यमा बेच्ने त कुरै होइन।’

उनीसँगै बोल्दै अर्की एक महिला लगानीकर्ताले भनिन्, ‘मैले त विस्तारै किन्दैछु, जलविद्युत, फाइनान्स र डेभलपमेन्ट बैंक किनिरहेकी छु।’

एक पुरुष लगानीकर्ता पनि उनीहरुसँग सहमत हुँदै नेपालबाट बोल्दै भने, ‘अहिले त होल्ड गर्ने हो। यो समय त बरु घुम्न जाने समय हो। अहिले बेच्नेभन्दा होल्ड गर्नेले नै जित्छ।’

क्लब हाउसमै बोल्दै अर्की महिला लगानीकर्ताले भनिन्, ‘मैले त ३२०० मा बेचेकी थिएँ। मौद्रिक नीतिले केही असर गर्दैन भनेपछि फेरि वाणिज्य बैंकहरुको सेयर किनेँ, त्यसले भने दुःख दिएको छ।’

जलविद्युत, डेभलपमेन्ट बैक र फाइनान्स कम्पनीका सेयरहरु २४८० को इन्डेक्स हुँदा किनेर फेरि २८३० को इन्डेक्समा बेचेको ती महिलाले बताइन्। ‘वाणिज्य बैंकहरुको सेयरमा भने एभरेजिङ गर्दैछु’, उनले भनिन्, ‘खासै नराम्रो भने भएको छैन।’

क्लब हाउसमै बोल्दै एक पुरुष लगानीकर्ताले भने, ‘अब सेयर बजारमा पुरानाले नयाँ लगानीकर्तालाई फसाउने दिन सकिए।’

कोरियाबाटै एक पुरुष लगानीकर्ता भने, ‘फाइनान्समा भने कोरियाबाट अर्बौं फसेको छ।’

एक महिला लगानीकर्ताले अहिले कोरियाबाट सेयर कारोबारमा कुनै समस्या नरहेको बताइन्। ‘अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६) अहिले कोरियामै रहेको छ। यसले भनेको समयमा नै कोल्याट्रल हालिदिन्छ खासै समस्या छैन’, ती लगानीकर्ताले भनिन्। 

कोरियाका नेपाली सेयर लगानीकर्ताले प्रायः आइतबार सेयर कारोबार गर्ने र अन्य दिन कोरियाको समय ४ः३० बज्दा नेपालमा साढे १ हुने भएकोले अन्तिमतिरको समयमा पनि कारोबार गर्ने गरेको सुनाए। एक महिला लगानीकर्ताले भनिन्, ‘अहिले घटेको समयमा आफ्नो लगानीको थप १० प्रतिशतले सेयर खरिद गर्न उपयुक्त हुन्छ।’