– अर्जुन तिमिल्सिना
काठमाण्डौ । कोभिड महामारीका बेला लगाइएको लकडाउनमा बजार बढेको–बढ्यै गर्यो। आज किन्यो भोलि फाइदा। अनि, भोलि किन्यो अर्को दिन फाइदा। बजार यसरी बढेको–बढ्यै गरेपछि सेयर बजारमा गृहिणीदेखि विद्यार्थीसम्मको ठूलै प्रवेश भयो। सबैखालका व्यापारीदेखि विदेशमा श्रम गर्न जानेहरुको सेयर बजारमा निकै ठूलो सहभागिता थियो।
त्यसमा पनि उत्कृष्ट श्रम गन्तव्य मानिएको दक्षिण कोरिया नेपालमा रेमिट्यान्सदेखि सेयर बजारमा लगानी गर्ने एउटा बलियो स्रोत भएको ठाउँ हो। आकर्षण बढी भएपछि केही ब्रोकरले त कोरियाबाटै पनि सेयर कारोबारको सुविधा दिए।
लकडाउनमा भिडियो केवाईसीलगायत अनलाइनबाटै सेयर कारोबार गर्न सकिने सुविधा पनि थपियो। दैनिक सेयर कारोबार र लगानीकर्ता बढ्दै गए। विदेशबाट सेयर कारोबार बढ्न थल्यो।
त्यही समयमा कोरियाबाट एक महिला लगानीकर्ता सुन्धारा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५२)मा जोडिन पुगिन्। त्यस ब्रोकरका सञ्चालकले भने, ‘ती लगानीकर्ता कसरी जोडिइन्, त्यो भने थाहा भएन। अन्य थुप्रै लगानीकर्ता पनि कोरियाबाट हामीसँग आबद्ध भएका छन्।’
ती महिला लगानीकर्ताले १८ लाख रुपैयाँबराबरको विभिन्न इन्स्योरेन्स कम्पनीको सेयर किनेको ती सञ्चालकले बताए। त्योबेला ब्रोकरले कोल्याट्रल पनि ग्राहक हेरेर राम्रै दिन्थे। ब्रोकरको कोल्याट्रलमै ती महिला लगानीकर्ताले कोरियाबाटै सेयर किनिन्। किनेको सेयरको पैसा पनि ब्रोकरले पायो।
केही समयपछि ती महिला लगानीकर्ताका ससुरा बागलुङबाट ब्रोकर हाउस खोज्दै सुन्धारा सेक्युरिटिज पुगे। त्यसपछि ब्रोकर सञ्चालक जिल्ल परे।
ती व्यक्ति (ससुरा)ले ब्रोकर सञ्चालकसँग गुनासो पोखे, ‘सेयर बजारमा लाग्नुअघि बुहारीले महिनाको ५० हजार रुपैयाँ निरन्तर पठाउँथिन्। तर, अहिले १ रुपैयाँ पनि आउँदैन।’
बुहारीले के किनिन् ती व्यक्तिलाई थाहै छैन। ‘यो सेयर र कोल्याट्रल भनेको के हो ?’ उमेरले परिपक्व ती व्यक्तिले ब्रोकर सञ्चालकसँग सोधे।
ब्रोकर सञ्चालकले ती व्यक्तिलाई सम्झाइ–बुझाइ घर पठाए।
ब्रोकर हाउसमा यस्ता घटना सामान्य नै हुन्। यसअघि पनि सुन्धारा सेक्युरिटिजमै एक विद्यार्थीले १० लाख रुपैयाँको सेयर किनेर पैसा नै नतिरेपछि समस्या भएको थियो। ब्रोकरका कर्मचारीले फोन सम्पर्क गरेपछि ती विद्यार्थीका अभिभावक पनि सोधी–खोजी गर्दै ब्रोकर हाउस पुगेका थिए। ‘विद्यार्थीलाई किन सेयर किनिदिएको भन्दै उल्टै थर्काए’, ती सञ्चालकले भने, ‘कोल्याट्रल दिउँ यस्तो हुन्छ, नदिउँ ग्राहक रिसाउँछन्। यो कोल्याट्रल वरदान हो कि अभिशाप ?’
सेयर बजार पछिल्लो २५ महिनादेखि खसेको–खस्यै छ। बजार बढ्दा सबै ठीकै थियो। जब बजार बढ्न थाल्यो नियामक निकायहरुको आँखा पर्न थाल्यो। त्यसपछि एकपछि अर्को गर्दै बजार प्रतिकूल नीति व्यवस्था ल्याउन थालियो।
नेपाल धितोपत्र बोर्डको ५१ वटा कम्पनीको सूचीसँगै राष्ट्र बैंकले पनि निर्ममताका साथ ४–१२ करोडको क्यापका रुपमा अन्तिम अस्त्रले सेयर बजारमा हान्यो। एकातिर नियामकको प्रहार र अर्कोतर्फ लकडाउन विस्तारै खुल्न थालेपछि सेयर बजारबाहेकको अन्य क्षेत्र चलयमान हुँदै गयो। फलस्वरुप सेयर बजार सुस्ताउन थाल्यो।
अर्थतन्त्रमा लकडाउनको आर्थिक प्रभाव पनि पर्न थाल्यो। २०७८ साल भदौ २ गते अहिलेसम्मको उच्च विन्दु चुमेको बजारमा २२ अर्ब रुपैयाँसम्मको कारोबार भयो। त्यसपछि खसेको बजार आजको मितिमा १९०० भन्दा तल बन्द भएको छ।
सेयर लगानीकर्ताले उच्च विन्दुबाट १३०० अंक गुमाउँदा १५ खर्ब रुपैयाँ बढीको क्षति व्यहोरेका छन्। त्यसको प्रभाव र असर ब्रोकर हाउसमा परेको ब्रोकर सञ्चालकहरु बताउँछन्।
अहिले पनि त्यो बेला सेयर बजार पसेर उच्च नोक्सानी व्यहोरेका लगानीकर्ताका पीडा ब्रोकर हाउसदेखि क्लबहाउसहरुमा छरपष्ट सुनिन्छ। ब्रोकर हाउसमा लगानीकर्ताले ब्रोकरसँग सल्लाह मागेका हुन्छन् भने सामाजिक सञ्जालमा पनि लगानीकर्ताको पीडा कम देखिँदैन। पछिल्लोपटक लगानीकर्ताले प्राविधिक विश्लेषक (टीए) र गभर्नरलाई भने आक्रामण ढंगले गाली गरिरहेको पाइन्छ। खासगरी राष्ट्र बैंकको नीतिले बजार घटेको आरोप लगाउने सेयर बजारमा धेरै भेटिन्छन्।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago