काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबारसम्म २७ हजार ३४३ जनाको ज्यान गएको छ भने करिब ६ लाख मानिस संक्रमित भएका छन्।

समाचार एजेन्सीका अनुसार शुक्रबारसम्म संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्किएका छन्। यो भाइरसले अहिलेसम्म १९५ देशलाई आफ्नो चपेटामा पारिसकेको छ। 

यो भाइरसबाट इटाली, स्पेन र फ्रान्समा मात्रै १६ हजार २६७ जनाको ज्यान गएको छ। यो कुल मृत्युदरको ६० प्रतिशत हो। 

त्यसो त अमेरिकामा संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ। जुन इटाली र चीनमा भन्दा बढी हो। अमेरिकामा बितेको २४ घन्टामा थप ४०२ जनाको ज्यान गएको छ भने १८ हजार ६९१ जना नयाँ संक्रमित फेला परेका छन्। अमेरिकामा हालसम्म १ हजार ५८८ जनाको ज्यान गइसकेको सीएनएनले जनाएको छ। 

हिजो शुक्रबारसम्म इटालीमा सबैभन्दा बढी ९१९ जनाको ज्यान गएको छ। योसँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ। 

त्यस्तै स्पेनमा बितेको २४ घन्टामा ७७३ जनाको ज्यान गएको छ। योसँग स्पेनमा कोरोबाट ५ हजार १३९ जनाले ज्यान गुमाइसकेका छन्। 

यसैगरी फ्रान्समा शुक्रबार एकैदिन ३०० जनाको ज्यान गएको छ। फ्रान्समा हालसम्म १ हजार ९९५ जनाको ज्यान गएको छ भने ३२ हजार ९६४ जना संक्रमित भइसकेका छन्। 

फ्रान्स सरकारले अप्रिल १५ सम्म लकडाउनको घोषणा गरिसकेको छ। – एजेन्सी