काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहर साढे २ महिनाको लकडाउन हट्दै बुधबारबाट खुलेको छ।

कोरोनाभाइरसका संक्रमित बढ्न थालेपछि चीन सरकारले वुहान सहर गत जनवरी २३ तारिखदेखि लकडाउन गरेको थियो। अवस्था सामान्य बन्दै गएपछि चीन सरकारले ७६ दिनपछि वुहान सहरमा लगाएको लकडाउन हटाएको हो।

लकडाउनका क्रममा वुहान सहरका करिब ११ मिलियन जनसंख्या घरमा बन्द हुन बाध्य थिए।

यो प्राणघातक भाइरसबाट वुहान सहरमा मात्रै ३ हजार ३०० जनाको ज्यान गएको छ भने ८२ हजारभन्दा बढी संक्रमित भएका छन्। पछिल्ला केही दिनदेखि यो सहरमा कोरोना संक्रमणका घटनामा निकै कमी आएको छ। हिजो मंगलबारदेखि यो सहरमा एकजना पनि संक्रमित फेला नपरेको चिनियाँ अधिकारीहरुले बताएका छन्। 

लकडाउनको समाप्तिसँगै बुधबार बिहानै वुहान सहरको याङ्ग्त्जी नदीकिनारमा जम्मा भएर खुसियाली मनाइएको थियो। यस क्रममा एनिमेटेड इमेजेसको मद्दतले स्वास्थ्यकर्मी र अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको तस्बिर पनि खचिएको थियो। 

लकडाउन समाप्तिअघि नै सहरका उच्च अधिकारीहरु रेलवे स्टेसन र एयरपोर्टहरुमा अनुगमन गरेका थिए। उनीहरुले लकडाउन समाप्तिका लागि यी क्षेत्र कत्तिको सुरक्षित छ भन्ने कुरा यकिन गर्न अनुगमन गरेका थिए।– एजेन्सी