काठमाण्डौ। विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या शुक्रबार बिहानसम्म ९६ हजार नजिक पुगेको छ।

जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोना संक्रमणबाट १८४ देशमा ९५ हजार ९०० जनाको ज्यान गएको हो। १५ लाख ९७ हजार बढी मानिस संक्रमित भएका छन्।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। त्यहाँ १६ हजार ५०० भन्दा बढी मानिको ज्यान गइसकेको छ। अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले मानिसलाई मास्क लगाउन सल्लाह दिएकी छन्। 

उता इटालीमा कोरोनाको संक्रमणबाट १८ हजार ३०० को हाराहारीमा मानिसको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १ लाख ४३ हजार ६०० भन्दा बढी पुगेको छ।

स्पेनमा हालसम्म १ लाख ५३ हजार मानिसमा कोरोना पोजेटिभ देखिएको छ भने १५ हजार ४०० भन्दा बढीको ज्यान गइसकेको छ। 

फ्रान्समा हालसम्म १२ हजार ३०० को हाराहारीमा कोरोनाले मानिसको ज्यान लिएको छ। त्यहाँ करिब १ लाख १९ हजारभन्दा बढी संक्रमित भएका छन्।

यसैगरी ब्रिटेनमा बिहीबार बिहानसम्म करिब ८ हजार मानिसको ज्यान गइसकेको छ। त्यहाँ ६५ हजार ९०० को हाराहारीमा मानिस संक्रमित भएका छन्। – एजेन्सी