काठमाण्डौ । पछिल्लो तथ्यांकअनुसार विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमत महिला र बालबालिकाको तुलनामा पुरुषमा बढी देखिएको छ। 

चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै गरेको एक अध्ययनबाट यस्तो देखिएको छ। यो संस्थाले ४४ हजार संक्रमितमा गरेको यो अध्ययन गरेको थियो। यीमध्ये २.८ प्रतिशतको ज्यान गयो भने १.७ प्रतिशतले महिलाले ज्यान गुमाए। अध्ययनले ज्यान गुमाउने बालबालिकाको संख्या ०.२ प्रतिशतमात्र देखायो भने १५ प्रतिशतभन्दा बढी वृद्धवृद्धाले ज्यान गुमाए। 

यो तथ्यांकले पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोनाभाइरसको संक्रमणको जोखिम काम देखिए पनि कत्तिको विश्वास गर्न सकिन्छ भन्ने बहसको विषय बनेको छ। 

लन्डनस्थित किंग्स कलेजका डा नथालिए म्याकडरमेट बालबालिकामा यसको संक्रमण कम देखिनुमा अभिभावक सचेत रहनु नै प्रमुख कारण रहेको बताउँछन्। ‘अभिभावक आफ्ना बालबच्चालाई अहिले यो संक्रमबाट बचाउन हरसम्भव प्रयास गरिरहेका छन्’, उनले भने, ‘जसले गर्दा बालबालिकामा कोरोनाको संक्रमण कम देखिएको हो।’

डा नथालिएले महिलाको हकमा भने उनीहरु सरसफाइ र खानपानमा बढी ध्यान दिने भएकोले यो संक्रमण उनीहरुमा कम देखिएको हुन सक्ने बताउँछन्। ‘पुरुषको तुलनामा महिला बढी सरसफाइ र खानपानमा ध्यान दिन्छन्, जसले गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण रोकथामको क्षमता बढी हुन्छ’, उनले भने। 

डा नाथन फोक्सोमा संक्रमण भएका मानिसलाई पनि यो भाइरसले छिटै आक्रमण गर्ने बताउँछन्। ‘चीनमा ५२ प्रतिशत पुरुष धूमपान गर्छन्, त्यहाँ केवल ३ प्रतिशत महिलामात्र धूमपान गर्छन्’, उनले भने, ‘यसले प्रस्ट हुन्छ कि यो भाइरस त्यहाँका पुरुषमा बढी देखिनु स्वभाविकै हो।’

त्यसो त कम उमेर बालबालिकामा कोरोनाभाइरस नदेखिएको भने होइन। हालै एकदिने बालकमा पनि यो संक्रमण भेटिएको तथ्य सार्वजनिक भइसकेको छ।

चिकित्सकका अनुसार बढ्दो उमेरसँगै रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने भएकोले हालै सार्वजनिक भएको तथ्यांकमा कोरोनाको संक्रमण बालबालिकाको तुलनामा वृद्धवृद्धामा बढी देखिनु स्वाभाविकै भएको बताउँछन्। तर बालबालिकामा भने उमेर बढ्नुसँगै रोगसँग लड्ने क्षमता पनि बढ्ने हुनाले छिटै यो भाइरसले समात्ने सम्भावना कम हुने उनीहरुले प्रस्ट पारे। – एजेन्सी