काठमाण्डौ । कोरोना संक्रमणबाट अतिप्रभावित बाँके जिल्लामा भोलि सोमबार मध्यरातबाट लकडान गरिने भएको छ। 

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो। प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी १ साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउन वैशाख २० गते राति १२ बजेसम्म जारी रहनेछ। 

बाँकेमा अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको प्रशासनले जनाएको छ। बाँकेमा अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको छ। स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटीएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन्।

यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनमात्रै गुड्नेछन्। मास्क, भौतिक दूरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

गत वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको थियो।