काठमाण्डौ । यतिबेला कोरोना महामारीले सारा विश्वलाई आफ्नो पकडमा लिएको छ। यो भाइरसका कारण कयौँ मानिसले आफ्ना प्रियजन, साथीसंगी र परिवारका सदस्य गुमाउनुपरेको छ। मानिसहरु दैनिक रुपमा भाइरसको संक्रमणबाट आफू र आफ्ना नजिकका कसैलाई गुमाउनुपर्ने हो कि भन्ने त्रासमा बाँचिरहेका छन्। 

कोरोना भाइरसले कयौँको घरबार उजाडेको र कल्पनै गर्न नसक्ने गरी जीवनहरुलाई क्षतविक्षत पारेका घटनाहरु घटेका छन्। 

छिमेकी मुलुक भारतमा पनि कारोनाका यस्तै हृदयविदारक घटनाहरु बाहिरिएका छन्। 

एउटा घटना भारतको दक्षिण दिल्लीको हो। त्यहाँ २८ दिनको अन्तरालमा एकैपरिवारका ६ जना सदस्यको कोरोनाबाट भयो। 

वास्तवमा यो घटना भारतको दक्षिण दिल्लीको देवली इलाकाको हो। जहाँ मित्तल निवासमा १५ जनाको परिवार बसोबास गर्ने गर्दथ्यो। वृद्ध हजुरबुवा, हजुरआमादेखि लिएर उनका छोराछोरीहरु र नानिनतिनाहरु सबै एकै ठाउँमा हासीखुसी बस्ने गर्दथे। तर यो परिवारको खुसी कोरोनाले खोसिदियो। कोरोनाकै कारण यो परिवार यति गहिरो शोकमा छन् कि कुन परिवारका सदस्यको कहिले मृत्यु भयो भनेरसमेत भन्न सक्ने अवस्थामा छैनन्। 

गत अप्रिल महिनामा यो परिवारका ३ जना सदस्यमा एकैपटक कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला दिल्लीमा कोरोना संक्रमणको अवस्था यति खराब थियो कि निजी अस्पतालमा समेत बेड खाली थिएन। परिवारका सदस्यहरुलाई बचाउनका लागि मित्तल परिवार निजी र सरकारी अस्पतलाहरु धाउन थाले। उनीहरुको अथक प्रयासका बाबजुत पनि बेड प्राप्त भएन। 

अन्त्यमा कोरोनाबाट संक्रमित तीनजना हरियाणाको एम्स अस्पतालमा भर्ना भए। तीनजनाको अस्पतालमा उपचार हुँदै गर्दा परिवारका अन्य दुुईजनासमेत संक्रमित हुन पुुगे। उनीहरुलाई पनि उपचारका लागि सोही अस्पतालमा भर्ना गरियो। यसरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित हुँदै गए र संक्रमित हुने तथा अस्पताल भर्ना हुने सिलसिला जारी रह्यो। 

मित्तल परिवारको सबै वृद्ध सदस्यहरु अस्पताल भर्ना भएका थिए। परिवारका १५ सदस्यमा ८ जना कोरोनाबाट संक्रमित भएका थिए। जसमध्ये ६ जनाले आफ्नो ज्यान गुमाउनुुपर्यो।  

यसैगरी भारतकै लखनउमा कोरोनाबाट सिर्जित अर्को हृदयविदारक घटना बाहिर आएको छ। त्यहाँ २१ दिनको अन्तरालमा एकैपरिवारका ८ जना सदस्यको कोरोनाकै कारण मृत्यु भएको छ। – एजेन्सी