काठमाण्डौ । कोभिड १९ को तेश्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै आउनसक्ने संकटसँग लड्नका लागि तयार भएर बस्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ । 

देशभरका सबै खाले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सर्कुलर जारी गर्दै स्वास्थ्य मन्त्रालयले दोश्रो लहरजस्तै तेश्रो र चौथो लहर पनि आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तीमा २० प्रतिशत शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न भनेको छ । 

अस्पतालहरुलाई वैकल्पिक प्राणवायू(अक्सिजन)को व्यवस्थापन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले कोभिड १९ को दोश्रो लहर नियन्त्रणउन्मुख हुँदै गएको अवस्थामा पुनः दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहेनत र प्रयासले अवस्था काबुभित्रै रहेको समेत दाबी गरेको छ । 

प्रथम र दोश्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएका हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र हुन पुगेको भन्दै तेश्रो र चौथो लहरको संभावनालाई ध्यानमा राखी बेलैदेखि आवश्यक तयारी गर्न भनिएको छ । 

मन्त्रालयले तेश्रो र चौथो लहरले बालबालिकालाई बढी प्रभावित पार्नसक्ने देखिएको भने पनि यसको आधार भने निर्देशनमा प्रष्ट्याएको छैन ।