काठमाण्डौ । विश्वव्यापी माहामारी घोषित कोरोनाभाइरसको संक्रमणबाट विश्वमै पहिलोपटक एउटा कुकुर मरेको घटना सार्वजनिक भएको छ।

हङकङमा कोरोनाको संक्रमणबाट एउटा कुकुर मरेको घटना सार्वजनिक भएको हो। पोमर्यानियन ब्रिड जातिको १७ वर्षको कुकुर यो भाइरसको चपेटामा परेको बताइएको छ। 

दुई दिनअघि उक्त कुकुर बिरामी मालिकले उपचारका लागि पशु अस्पताल पुर्याएका थिए। उपचारमा संलग्न पशु चिकित्सकअनुसार उक्त कुकुरको नाक र मुखबाट लिइएको र्यालको नमुना परीक्षणबाट कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। त्यसपछि कुकुरलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। 

आइसोलेसनमा राखिएको कुकुरलाई बुधबार अस्पतालले डिस्चार्ज गरेको थियो। अस्पतालबाट घर लानेबित्तिकै कुकुर मरेको बताइएको छ। 

यो घटना सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनावरबाट मानिसमा कोरोनाभाइरस फैलिएको अहिलेसम्म एउटा पनि घटना सार्वजनिक नभएकोले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। यो भाइरस संक्रमित मानिस कफ, हाँछ्यु गर्दा र सम्पर्कमा रहँदा मात्र सर्ने डब्लूएचओले जनाएको छ।