काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोनाबाट १३९ मृत्यु भएको हो। यो एक दिनको हालसम्मकै उच्च संख्या हो।

पछिल्लो २४ घन्टामा १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्जिटेन परीक्षण गर्दा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ६०७ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौमा मात्रै २ हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ जना छन्।

यो अवधिमा थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। संक्रममुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेका छन्।