काठमाण्डौ । नेपालमा पहिलोपटक कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख माथि पुगेको छ 

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन् । यो अवधिमा ४ हजार ४४४ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी बुधबारसम्म देशभर रहेका सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । 

नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमित १ लाख पुगेका थिएनन् । दैनिकजसो संक्रमणका नयाँ नयाँ ग्राफ बनाउँदै आएको कोरोनाले सक्रिय संक्रमितमा पनि अहिलेसम्मकै नयाँ रेकर्डसहितको ग्राफ बनाएको हो । 

गत २४ घण्टामा देशभर कोभिडका कारण १६८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो अवधिमा सबैभन्दा बढी काठमाण्डौ उपत्यकामा ३ हजार ९२४ संक्रमित फेला परेका छन । यीमध्ये भक्तपुरमा २२६, ललितपुरमा ४४८ र काठमाण्डौ जिल्लामा ३ हजार २५० नयाँ संक्रमित थपिएका छन् ।