काठमाण्डौ । अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयमा अत्यावश्यकबाहेक बजेट खर्चमा रोक लगाएको छ। 

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले परिपत्र गर्दै विभिन्न १४ शीर्षकका बजेट खर्च रोक्न सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो। परिपत्रमा चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रमलाई स्थगित गरी विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस, रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले बजेट रोक्का गरिएको उल्लेख छ ।

परिपत्रमा २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको काममा भने बजेट रोक्का नहुने उल्लेख गरिएको छ । 

परिपत्रमा सवारीसाधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भइपरी आउने पुँजीगत खर्च नगर्न भनिएको छ । 

यस्तै सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भइपरी आउने चालु खर्चसमेत रोक्का राख्न परिपत्रमा उल्लेख छ। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सार्वजनिक गतिविधि र आवागमनलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको सन्दर्भमा अर्थ मन्त्रालयले कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएकोले राजस्व संकलनमा समेत असर परेको जनाएको छ।