काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट बुधबार बिहानसम्म ८२ हजार बढीको ज्यान गएको छ।

जोन हप्किङ्स युनिभर्सिटीका अनुसार आज बिहानसम्म ८२ हजार २० जनाको ज्यान गएको हो। यो भाइरसबाट अहिलेसम्म १४ लाख २८ हजार ४२८ जना संक्रमित भएकोमा ३ लाख १९८ जना निको भएका छन्।

कोरोनाको कहर सबैभन्दा बढी अहिले युरोपेली मुलुकमा परेको छ। आज बिहानसम्म इटालीमा १७ हजार १२७ जना, स्पेनमा १४ हजार ४५  जना र फ्रान्समा १० हजार ३२८ जनाको ज्यान गइसकेको छ। 

इटालीमा अहिलेसम्म १ लाख ३५ हजार ५८६ जनामा संक्रमण देखिएकोमा २४ हजार ३९२ जना ठिक भएर घर फर्किएका छन्।

त्यस्तै स्पेनमा हालसम्म १ लाख ४१ हजार ९४२ जनामा कोरोनाको संक्रमण देखिएकोमा ४३ हजार २०८ जना निको भएका छन्। फ्रान्समा भने १ लाख १० हजार ७० जना कोरोनाबाट संक्रमित भइसकेका छन्। तीमध्ये १९ हजार ५२३ जना निको भएका छन्।

यसैगरी ब्रिटेनमा बुधबार बिहानसम्म ६ हजार १५९ जनाको ज्यान गइसकेको छ। त्यहाँ ५५ हजार ९४९ जना संक्रमित भएकोमा ३२५ जनामात्र निको भएका छन्। 

उता अमेरिकामा हालसम्म १२ हजार ८४४ जनाको ज्यान गइसकेको छ। अमेरिकाको न्युयोर्क सहरमा सबैभन्दा बढी ४ हजार ९ जनाको ज्यान गएको छ। 

अमेरिकामा हालसम्म ३ लाख ९८ हजार १८५ जना कोरोनाबाट संक्रमित भइसकेका छन्। तीमध्ये २१ हजार ८४९ जनामात्र निको भएर घर फर्किएका छन्। – एजेन्सी