काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बेलायतमा ज्यान गुमाउनको नेपालीको संख्या १० पुगेको छ।

बेलायतको राजधानी लन्डनस्थित प्लमस्टिडमा बस्दै आएका भूपू गोर्खा सैनिक ५५ वर्षीय लक्ष्मण श्रेष्ठको बुधबार कोरोनाबाट मृत्यु भएपछि यो संख्या १० पुगेको हो। श्रेष्ठको निधनको भएको त्यहाँ रहेका अर्का भूपू गोर्खा सैनिक भोज बरालले पुष्टि गरेका छन्। 

श्रेष्ठ स्याङ्जा स्थायी घर भई केही वर्षअघि पोखरा लेकसाइडमा बसाइ सरेका थिए। उनी हाल लन्डमा बसोबास गर्दै आएका थिए।

गत दुई सातादेखि श्रेष्ठमा खोकी र ज्वरो आएर अस्पताल भर्ना गरिएको थियो। ‘केही दिनदेखि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो’, बरालले भने, ‘उपचारकै क्रममा उनको निधन भयो।’

अहिलेसम्म बेलायतमा कोरोनाभाइरस संक्रमणकै कारण १० जना नेपालीको ज्यान गइसकेको छ। तीमध्ये सातजना भूपू गोर्खा सैनिक रहेका छन्।