काठमाण्डौ । अमेरिकाका युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फोर हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युसन (आईएचएमई) ले अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट आउँदो अगस्ट महिनाको सुरुआतसम्म १ लाख ४७ हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ।

आईएचएमईले आफ्नो अनुसन्धान प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन्। अमेरिकामा कोरोना संक्रमणबाट हुने मृत्यु आँकलनलाई लिएर आईएचएमईले सुरुमा गरेको अनुमानभन्दा यो संख्या १० हजारले बढी हो।

आईएचएमईका शोधकर्ताहरुका अनुसार यो संक्रमण रोक्नका लागि प्रतिबन्धहरु खुकुलो पार्नु अझै खतरनाक हुन सक्छ। अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ८२ हजार २४६ जनाको ज्यान गइसकेको छ। 

आईएचएमईको यो अनुमानले स्पष्ट छ कि अमेरिकामा कोरोना संकट लगातार गहिरिँदै गएको छ। 

अमेरिकी सिनेटमा हिजो ह्वाइट हाउसका कोभिड–१९ टास्क फोर्सका प्रमुख एन्थोनी फाउचीले पनि लकडाउन खुकुलो पार्दा अमेरिकालाई निकै खतरापूर्ण हुन सक्ने चेतावनी दिएका थिए। – एजेन्सी