काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्म अमेरिकामा ९० हजार ३३८ जनाको ज्यान गइसकेको छ। यो अन्य मुलुकको मृत्यु आँकडाको तुलनामा अत्याधिक बढी हो। 

अमेरिकामा संक्रमितको संख्या भने १५ लाख पुगेको छ। निको हुनेको संख्या २ लाख ८८ हजार १७३ रहेको छ। 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्न आफूले हाइड्रोक्क्क्लिोरोक्विन औषधि सेवन गरिरहेको बताएका छन्। यो औषधि मलेरियाको उपचारमा प्रयोग हुन्छ।

यो औषधि कोरोनालाई उपयोगी छ वा छैन भन्ने प्रमाणित भने भइसकेको छैन। गत महिना मेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधि सेवनबाट कोरोना संक्रमित बिरामीलाई हृदयघातको सम्भावना हुन सक्ने चेतावनी दिएको थियो।

अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को आलोचना गर्दै कोरोना महामारीका बारेमा पहिले नै चेतावनी दिन असफल भएको आरोप लगाएका छन्। उनले यही कारणले विश्वभर लाखौँ मानिसको ज्यान गएको दाबी गरेका छन्।

डब्ल्यूएचओका निर्देशक टेड्रोसले अजारको अभिव्यक्तिको प्रतित्तर दिँदै डब्ल्यूएचओले बेलैमा विश्वलाई कोरोनाबारे चेतावनी दिएको र बारम्बार सुरक्षित उपायहरु अवलम्बनका बारेमाजानकारी दिँदै आएको दाबी गरेका छन्।  – एजेन्सी