काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ३०४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १६ हजार ९१९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ७५ जनाको मृत्यु भइसकेको छ। बुधबार एकै दिनमा भारतमा कोरोना भाइरसका २६० जना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ७३७ जना सङ्क्रमित अवस्था मै रहेका छन्। त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ। महाराष्ट्रमा मात्रै ७४ हजार ८६० जना सङ्क्रमित भएका छन्। दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २५ हजार ८७२ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। दिल्लीमा २३ हजार ६४५ जना संक्रमित रहेका छन्। 

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन्।