काठमाण्डौ । विश्वका लागि नयाँ कोरोनाभाइरसबारे वैज्ञानिक र डाक्टरहरु अनभिज्ञ छन्। यसबारे बेला–बेलामा नयाँ–नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन्। 

यस्तैमा कोरोनाबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। एउटा अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार कोरोनाबाट संक्रमित व्यक्तिमा मधुमेह (डाइबिटिज) को खतरा बढ्ने गर्दछ। यसअघिको अनुसन्धानमा अन्य व्यक्तिको तुलनामा मधुमेहका बिरामीलाई कोरोना संक्रमणको जोखिम उच्च हुने जनाइएको थियो। 

जर्मनीको होल्सटिन युनिभर्सिटी, अस्ट्रेलियाको मोनाश युनिभर्सिटी, बेलायतको ग्लासगो युनिर्भसिटी र बर्मिघम युनिभर्सिटीले संयुक्त रुपमा गरेको अनुसन्धानमा कोरोनाले इन्सुलिन कोशिकाहरुलाई असर गर्ने र त्यसलाई नष्ट गर्ने जनाइएको छ। अनुसन्धानमा कोरोनाबाट निको भएकाहरुमा इनसुलिनको मात्रा कम भएको देखिएको थियो। निको भएका संक्रमितहरुमा पहिले मधुमेहको कुनै संकेत थिएन। 

अनुसन्धानका अनुसार यसको मुख्य कारण प्रेङ्कियाज (अग्नाशय) मा इन्सुलिन बनाउने विटा कोशिकाहरु कोरोना संक्रमणका कारण क्षतिग्रस्त बनेको थियो। जसका कारण उनीहरुमा सुगर लेभल बढेको पाइएको थियो र उनीहरु टाइप वान डाइबिटिजको सिकार बनेका थिए। 

यो ताजा अनुसन्धान मेडिकल रिसर्च जर्नल नेचरमा प्रकाशित भएको छ। रिपोर्टका अनुसार अब यो संयुक्त अनुसन्धान निको भएका संक्रमितको शरीर, पिसाब र रगतमा गुलकोजको मात्रामा आउने परिवर्तनको अध्ययन गर्नमा जुटेको छ। ता कि यसबाट थाहा पाउन सकियोस् कि यसको असर कहिले, कति र कसरी पर्ने गर्दछ।  – एजेन्सी