काठमाण्डौ । भूसको आगो झै फैलिरहेको कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका काठमाण्डौका एक नेताको मृत्यु भएको छ । 

नेपाली कांग्रेसको काठमाण्डौ महानगरपालिका वडानम्बर २१ का सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको कांग्रेसका एक नेताले जानकारी दिए । 

मुटुरोग, प्रेसर र सुगर लगायतका समस्याबाट प्रताडित उनी केही दिनअघि गम्भीर भई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना भएका थिए । 

चारदिनअघिदेखि सो अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो । साउन ३१ गते अस्पताल भर्ना भएका थिए । 

अवस्था पहिलादेखि नै एकाएक बिग्रिएपछि ३२ गतेदेखि आइसियूमा राखेर उपचार थालिएको थियो ।

यसैबीच, नेता रञ्जितको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।