काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेका संख्या २ लाख ५ हजार बढी पुगिसकेको छ। कोरोनाबाट अतिप्रभावितको सूचीमा अग्रस्थानमा रहेको अमेरिकामा हालसम्म ७० लाख ९८ हजार २९१ जना संक्रमित भएका छन्। तीमध्ये ४३ लाख ४७ हजार १७२ जना निको भएर घर फर्किएका छन्। 

अतिप्रभावितको सूचीमा भारत दोस्रो स्थानमा छ। त्यहाँ हालसम्म ५६ लाख ४६ हजार १० जना संक्रमित भएकोमा ९० हजार २१ जनाको मृत्यु भएको छ भने ४५ लाख ८७ हजार ६१३ जना निको भएका छन्।

तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ४५ लाख ९५ हजार ३३५ जना संक्रमित भएका छन्। तीमध्ये १ लाख ३८ हजार १५९ जनाको ज्यान गएको छ भने ३९ लाख ४५ हजार ६२७ जना निको भएका छन्।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ८७ हजार ८५८ पुगेको छ। तीमध्ये २ करोड ३४ लाख ३ हजार ७७० जना निको भएका छन् भने ९ लाख ७५ हजार ५५० जनाको ज्यान गइसकेको छ। – एजेन्सी