काठमाण्डौ । कोरोना संक्रमणबाट निको हुने दर नेपालमा बढेर ८५ प्रतिशत पुगेको छ । पछिल्ला केही दिन तिहारका कारण दैनिक कोरोना परीक्षणको संख्या घटेसँगै थपिने संक्रमितको संख्या कम र डिस्चार्ज हुनेको संख्या बढी हुँदा निको हुने दरमा सुधार देखिएको हो।

नेपालमा मंगलबार कायम निको हुने दर ८४.७६ प्रतिशत रहेको छ । निको हुने यो दर हालसम्मकै सर्वाधिक हो । 

गत २४ घण्टामा ३ हजार ११२ को पीसीआर टेस्ट हुँदा ५०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा  २ हजार ८७८ संक्रमित निको भएर घर फर्किएका छन् भने थप १७ संक्रमितको मृत्यु भएको छ । 

थप संख्यासहित नेपालमा कोरोनाबाट संक्रमण हुनेको कुल संख्या २ लाख ११ हजार ४७५, निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२, मृत्यु हुनेको कुल संख्या १ हजार २४७ र सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।