काठमाण्डौ । चीनको वुहान प्रान्तबाट सुरुआत भएको विश्व महामारी कोरोनाभाइरस(कोभिड १९)ले यतिबेला सबैभन्दा ठूलो बबन्डर युरोपको इटलीमा मच्चाइरहेको छ । 

करिब तीन सातादेखि यो महामारीले इटलीमा ज्यान गुमाउनेको संख्यामा दिनप्रतिदिन बढ्दै गइरहेको छ। इटलीमा शनिबारसम्म ४ हजार ८२५ जनाको ज्यान गइसकेको छ। हिजोमात्र इटलीमा एकैदिन ७९३ जनाको ज्यान गएको थियो। त्यहाँ कुल संक्रमितको संख्या ५३ हजार ५७८ पुगिसकेको छ। 

इटलीमा कोरोनाबाट मृत्युदर बढ्नुको कारणबारे निकै प्रश्न उठ्न थालेका छन्। अन्य देशको तुलनामा आखिर इटलीमा कोरोना प्रभाव किन बढ्दै गयो ? जानौं यी ५ कारण:
१.इटलीमा वृद्धवृद्धाको संख्या बढी
विशेषगरी कोरोनाले अहिले वृद्धवृद्धामा धेरै असर गरिरहेको छ। दी न्युयोर्क टाइम्सका अनुसार इटलीमा ६५ वर्ष समूहका बढी मानिसको संख्या एकचौथार्इ छ। 

इटलीमा ज्यान गुमाउनेहरुमा पनि धेरैजसो ८० देखि १०० वर्ष समूहका बढी छन्। यो समूहका मानिसमा पहिले नै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको बताइएको छ। यस्तोमा उनीहरुलाई यो भाइरसले छिट्टै समाउने र रोगसँग लड्ने क्षमता कम हुँदा ज्यान जाने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। 

२.परीक्षण कम हुँदा धेरैको ज्यान गयो
इटलीमा कोरोनाभाइरस संक्रमितको जाँचमा कमी हुँदा पनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरु बताउँछन्। इटलीमा रुघाखोकीको मामुली लक्षण देखिँदा स्वास्थ्य संस्थामा परीक्षणका लागि नजाँदा पनि यो विकराल स्थिति सिर्जना भएको उनीहरु बताउँछन्। 

३.कम्युनिटी ट्रान्समिसनमा लगाम छैन
फिलाडेल्फियाको टेम्पल युनिभर्सिटी कलेज अफ पब्लिक हेल्थका एपिडिमियोलजिस्ट क्रिस जोनसनका अनुसार इटलीमा यो संक्रमणबाट ज्यान गुमाउनेको दर वास्तवमा ३.४ प्रतिशत हुनुपर्ने हो। तर संक्रमितहरुले स्वास्थ्य परीक्षण नगराउँदा यो स्थिति सिर्जना भएको हो। यही कारणले इटलीमा हालसम्म यो भाइरसबाट कतिजना संक्रमित छन् भन्ने वास्तविक तथ्यांक पनि नरहेको जोनसन बताउँछन्।

यसैगरी कम्युनिटी ट्रान्समिसनको खतरा पनि बढिरहेको छ। यो नै महामारी फैलिने सबैभन्दा ठूलो कारण बन्नसक्ने बताइएको छ। 

४.स्वास्थ्य व्यवस्था कमजोर
इटलीमा यो भाइरसले भयानक रुप लिनुको अर्को मुख्य कारण भने त्यहाँको स्वास्थ्य व्यवस्थामा रहेको कमजोरी मानिएको छ। त्यहाँका अस्पतालहरुको अवस्था अहिले खस्कँदै गएको छ। बिरामीलाई राख्ने बेडको संख्या पनि कम पर्न थालेको छ। 

कोरोना संक्रमित बिरामीलाई फिल्ड अस्पतालमा राखेर उपचार भइरहेको छ। सरकारी अस्पतालमा अन्य बिरामीले भरिएका छन्। 

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी आवश्यक सामान नहुँदा आफैँ असुरक्षित छन्। केही चिकित्सक आफैँ कोरोनाबाट संक्रमित भएका छन् भने लम्बार्डीस्थित मेडिकल सेवाहरु लगभग ध्वस्त भएका छन्। 

आवश्यक सामाग्रीको अभाव र यो भाइरसको चपेटामा परेका युवाहरु जीवित रहने सम्भावना बढी रहेकाहरुमाथि धेरै खर्च गर्न थालिएको छ।

५.लकडाउनमा ढिलाइ
अहिले इटली सरकार र प्रशासनले सहरहरु पूरै सटडाउन गर्न लगाएका छन्। केवल जरुरी कामका लागि मात्र मानिसलाई बाहिर निस्किने इजाजत दिइएको छ। प्रहरीले कसैलाई सडकमा घुमफिर गर्न दिइरहेका छैनन्। 

यद्यपि नाजुक आर्थिक अवस्था भएका मानिस यी नियमलाई उल्लंघन गर्न बाध्य छन्। प्रहरीले भने नियम पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिइरहेको छ। 

विज्ञहरुले भने लकडाउन पहिले नै कडा रुपमा गर्नुपर्ने बताइरहेका छन्। ‘पहिला राजनीति हुन्छ अहिले ढिला गरी चेतना खुल्दा यो स्थिति सिर्जना भएको हो’, उनीहरु भन्छन्। –एजेन्सी