काठमाण्डौ। विश्व बैंकले विश्व महामारी कोरोनाभाइरसका कारण दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धदर यो वर्ष नराम्ररी प्रभावित हुने अनुमान गरेको छ।

विश्व बैंकले दक्षिण एसियाली आठ मुलुकहरुको आर्थिक वृद्धिदर चार दशकयताकै तल रहने अनुमान गरेको हो। विश्व बैंकले कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण यो वर्ष दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशतसम्म रहने अनुमान गरेको छ। करिब ६ महिनाअघि विश्व बैंकले दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर ६.३ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो। 

यसअघि यो वर्ष दक्षिण एसियाकै ठूलो मुलुक भारतको आर्थिकवृद्धि ४.८ देखि ५ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो। कोरोनाका कारणले यो प्रक्षेपण घटेर १.५ देखि २.८ प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ। ‘कोरोनाले अहिले विश्वमै नकारात्मक असर परिरहेकोले त्यसको प्रत्यक्ष असर दक्षिण एसियाली मुलुकहरुमा देखिनु स्वभाविकै हो’, विश्व बैंकले भनेको छ। 

भारतबाहेक श्रीलंका, नेपाल, भुटान र बंगलादेशको आर्थिक वृद्धिदरमा पनि निकै कमी आउने विश्व बैंकले अनुमान गरेको छ। उता पाकिस्तान, आफगानिस्तान र माल्दिभ्समा भने मन्दी आउन सक्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। 

भारतमा जारी लकडाउनका कारण व्यापार–व्यवसाय, उद्योगधन्दा र बहुराष्ट्रिय कम्पनी, राष्ट्रिय कम्पनी तथा कार्यालयहरु बन्द हुँदा अहिलेसम्म १३ करोडभन्दा बढी मानिस कामविहीन विश्व बैंकले जनाएको छ। अन्य देशमा कोरोनाकै कारण करोडौँ मानिसलाई रोजगार विहीन बनेका विश्व बैंकले जनाएको छ। 

रोजगारीमा परेको नकारात्मक प्रभावका कारण दक्षिण एसियाली मुलुकहरुका करोडौँ मानिस गरिबीको रेखामुनि धकेलिने सम्भावना बढेको पनि विश्व बैंकले जनाएको छ। – एजेन्सी