काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अफ्रिका महादेशमा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिस गरिबीतर्फ धकेलिने राष्ट्रसङ्घीय अधिकारीहरूले चेतावनी दिएका छन्।

गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो। त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ। अहिलेसम्म त्यो सङ्ख्या युरोप र अमेरिकाको भन्दा निकै कम हो।

बीबीसीका अनुसार अफ्रिकाका लागि राष्ट्र सङ्घीय आर्थिक आयोगले त्यहाँ तीन लाखसम्म मान्छेको ज्यान जान सक्ने भन्दै सो महादेशको लागि बाह्य ऋण भुक्तानी स्थगनसहित करिब एक सय अर्ब डलरको सहायताको आह्वान गरेको छ।

डब्ल्यूएचओका अनुसार भाइरस अफ्रिकी देशका राजधानी बाहिर फैलन सुरु भएको छ।

अफ्रिकी महादेशमा महामारीसँग जुझ्न भेन्टिलेटरको अभाव भएको पनि उसले औँल्याएको छ। अफ्रिकाको एक तिहाइ भन्दा बढी जनसङ्ख्याको खानेपानीमा पहुँच छैन र शहरका करिब ६० प्रतिशत जनसङ्ख्या भिडभाडयुक्त झुपडबस्तीहरूमा बस्छन्- जुन भाइरस फैलिनका लागि उपयुक्त अवस्था बन्न सक्छ।

अफ्रिकाको जनसङ्ख्या १.३ अर्ब छ जसमध्ये १९ हजार जनामा सङक्रमण पुष्टि भइसकेको छ भने ९७० जनाको मृत्यु भइसकेको छ।

उत्तरी अफ्रिका सबभन्दा नराम्ररी प्रभावित क्षेत्र हो। अल्जेरिया, इजिप्ट र मोरक्कोमा २००० जनामा सङ्क्रमण पुष्टि भएको छ। 

दक्षिण अफ्रिकामा २०००मा सङ्क्रमण पुष्टि भएको छ र ४८ जनाको ज्यान गएको छ। यो महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मातशिडिसो मोइटीले बीबीसीका स्वास्थ्य संवाददातालाई अन्तर्राष्ट्रिय यात्रा कारक रहेको बताइन्। उनले भनिन्, "अफ्रिकाका मानिसहरू तुलनात्मक रूपमा थोरै मात्र अन्तर्राष्ट्रिय यात्रा गर्छन्।"

तर भाइरस अफ्रिकामा पुगिसकेकाले उनको संस्थाले अरूतिर जस्तै अब द्रुत गतिमा भाइरस फैलिन्छ भन्ने धारणा अनुसार काम गरिरहेको छ।

डा. मोइटीका अनुसार भाइरस अहिले दक्षिण अफ्रिका नाइजेरिया, आइभरी कोष्ट, क्यामरून र घानाका ठूला शहरबाट बाहिरी भेगमा सरिरहेको छ। अहिले पनि अफ्रिकाका १५ देशमा भाइरस नफैलिएको र यदि ती मुलुकहरूले सामाजिक दूरी कायम राख्ने काम गरे भने भाइरस नियन्त्रणमा रहने उनले बताइन्।

डब्ल्यूएचओले गरेको प्रारम्भिक अनुमान अनुसार आगामी ३ देखि ६ महिनासम्मा १ करोड मानिस सङ्क्रमित हुन सक्छन्। यदि कोभिड १९ यो महादेशमा फैलियो भने त्यसको असर युरोप र अमेरिकामा भन्दा धेरै घातक हुने हाम्रा स्वास्थ्य संवाददाताहरू बताउँछन्।

डब्ल्यूएचओका अनुसार अफ्रिकी मुलुकहरूमा प्रति दशलाख मानिसका लागि जम्मा पाँचवटा आइसीयू शैय्या उपलब्ध छन् जबकी युरोपमा प्रति दशलाख मानिसका लागि ४००० त्यस्ता शैया उपलब्ध छन्। डा. मोइटीका अनुसार डब्ल्यूएचओ अफ्रिकामा उपचार भन्दा पनि रोग लाग्दै नदिनेतिर केन्द्रित रहेको छ किनभने कैयौँ अफ्रिकी मुलुकसँग कोरोनाभाइरसका धेरै बिरामी उपचार गर्ने क्षमता नै छैन।

भेन्टिलेटरको अभाव 'त्यहाँको सबैभन्दा ठूलो चुनौती' रहेको उनले बताइन्।

कोभिड १९ रोग लागेर गम्भीर लक्षण देखा पर्ने बिरामीका लागि भेन्टिलेटर जीवन मरणसँग गाँसिन्छ।

रोग गम्भीर भएर आफै सास फेर्न नसक्ने बिरामीहरूमा भेन्टिलेटरले अक्सिजन फोक्सोसम्म पुर्याउँछ र कार्बन डाइअक्साइस शरीरबाट बाहिर निकाल्छ।

कैयौँ मुलुकले लकडाउन कार्यान्वयन गरेका छन्। केही मुलुकमा स्कूलहरूलाई स्वास्थ्य सेवा दिने ठाउँ बनाइएको छ। तिनलाई क्वारन्टीन स्थलहरू पनि बनाइएको छ। टेक्सटाइल उद्योगहरूले पीपीइ बनाउन सुरु गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रमले अति आवश्यक उपकरण विभिन्न देशमा बाँड्न सुरु गरेको छ। तिनमा मास्क, पीपीइ र भेन्टिलेटर रहेका छ्न।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दश लाख कोरोनाभाइरस परीक्षण किट वितरण गर्ने जनाएको छ।