– भक्तराज रसाइली

काठमाण्डौ । स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिको निर्वाचन अनिश्चित बनेको छ। 

विश्व महामारी कोरोना संक्रमणका एसोसिएसनको तत्काल वार्षिक साधारणसभा नहुने भएपछि नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचन पनि अनिश्चित बनेको हो। एसोसिएसनमा भरत रानाभाट नेतृत्वको कार्यसमितिको समयावधि असोज १२ गते पूरा भइसकेको छ। 

एसोसिएसनमा एउटा कार्यसमितिको कार्यकाल २ वर्षको हुन्छ। विधानअनुसार भने एसोसिएसनको अध्यक्ष पदमा एकै व्यक्ति २ पटकसम्म निर्वाचित हुन पाउँछ। 

कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने व्यवस्था सरकारले गरेको छ। ‘त्यही भएर अन्य २–३ वटा मोडलबाट वार्षिक साधारणसभा गर्नका लागि छलफल भइरहेको छ’, अध्यक्ष रानाभाटले भने। 

स्रोतका अनुसार कोरोना जोखिम दिनानुदिन बढिरहेकाले समेत एसोसिएसनको वार्षिक साधारणसभा दसैंतिहार अघि हुने सम्भावना छैन। 

को–को छन् अध्यक्षको दौडमा ? 

ब्रोकर एसोसिएनको अध्यक्ष पद निकै नै एक्सपोज हुने र प्लेटफर्म बनाउने ठाउँसमेत मानिन्छ। नियामक र सरकारको नजिक रही ब्रोकर कम्पनीहरुको हकहित र पेसागत सुरक्षाका निम्ति अध्यक्षले महत्वपूर्ण भूमिका निभाउनुपर्छ।

हाल ब्रोकर एसोसिएसनमा अध्यक्ष पदका लागि नै भनेर कसैले दाबी नगरिसकेको ब्रोकरहरु बताउँछन्। यद्यपि अध्यक्ष पदको आकांक्षीका रुपमा भने स्टक ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुराज ओझा, स्टक ब्रोकर नम्बर ४८ का टंक गौतम (हालका उपाध्यक्ष), ब्रोकर नम्बर ३६ का सन्तोष मैनाली (पूर्वसचिव), ब्रोकर नम्बर ३७ का धर्मराज सापकोटा (हालका महासचिव) र ब्रोकर नम्बर ३४ का राजकुमार तिमिल्सिना देखिएका छन्। तिमिल्सिना यसअघिको निर्वाचनमा रानाभाटसँग पराजित भएका थिए। 

केही ब्रोकरहरु विष्णु ओझाको पक्षमा सर्वसम्मती गराउनुपर्छ भनेर लागेका स्रोत बताउँछ। तर कतिपय ब्रोकरहरु भने यसपालि सन्तोष मैनालीलाई अध्यक्ष बनाउनुपर्ने बताउन थालेका छन्।