काठमाण्डौ । कोरोना संक्रमणका कारण कैयौं परिवार छिन्नभिन्न भएका छन् । प्रियजनहरुलाई संक्रमणको लप्काले लगिरहँदा बाँच्नेहरुलाई सहनै कठीन हुने घटनाहरु भइरहेका छन् । 

काठमाण्डौमा एक उद्योगीको परिवारमा यस्तै घटना भएको छ । ब्रुअरी उद्योगमा नाम कमाएका उद्योगपति तेजेन्द्र खड्काको जीवनमा यस्तै भयो । उनको कोरोना संक्रमण भएको एक महिनापछि उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । 

केही हप्ताअघि मात्रै कोरोना संक्रमणकै कारण उनकी पत्नी सुन्तली खड्काको समेत निधन भएको छ । केही हप्ताको अन्तरालमा उद्योगी दम्पत्तिको मृत्यु भएको हो । 

खड्काको पारिवारिक स्रोतका अनुसार कोरोना संक्रमण भएपछि खड्का विगत १ महिनादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । एक साताअघि गराइएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उनलाई कोभिड निमोनिया भएका कारण श्वासप्रश्वासमा समस्या थियो । अस्पतालमै अक्सिजनको सपोर्टमा उपचार गराइरहेका उनको २ दिनदेखि एकाएक बिग्रिएको थियो । भेन्टिलेटरमा राखेर उपचार जारी राखिएकोमा बिहीबार बिहान १० बजे उनको मृत्यु भएको हो । 

खड्का टाइगर ब्रुअरीका अध्यक्ष समेत थिए । अन्य उद्योग प्रतिष्ठान तथा व्यापार व्यवसायमा समेत उनले लगानी गरेका थिए । ५३ वर्षीय खड्काकी पत्नीको समेत केही साताअघि कोरोना संक्रमणपछि उपचारको क्रममा मेडिसिटीमै मृत्यु भएको थियो । 

खड्काका २ छोरा र एक छोरी छन् ।