काठमाण्डौ । कोरोनाको दोस्रो लहरको चपेटामा परी एकै घरका ३ दाजुभाइको ३ दिनको अन्तरालमा मृत्यु भएको छ। 

यो घटना बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको हो। कोरोना संक्रमणबाट ज्यान गुमाउनेका नेपालगन्ज–३ का ३ दाजुभाइ छन्। यी ३ दाजुभाइमध्ये एकजनाको अस्ति बुधबार, एकजनाको हिजो बिहीबार र अर्का एकजनाको आज शुक्रबार मृत्यु भएको बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। 

कोरोनाबाट ज्यान गुमाउनेमा इम्तियाज, एजाज र जहिर अहमद छन्। इम्तियाजको आज, एजाजको हिजो र जहिरको अस्ति निधन भएको हो।  

परिवारमा सात दाजुभाइमध्ये इम्तियाज काइलो, एजाज राइलो र जहिर कान्छा भाइ थिए। उनीहरु सबैको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। 

व्यवस्थापन केन्द्रका अनुसार बिहीबार रातिमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० संक्रमित मृत्यु भएको थियो । हालसम्म बाँके जिल्लामा कोरोनाबाट १६९ जनाले ज्यान गुमाइसकेका छन्।