काठमाण्डौ । कोरोनाभाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखेर अमेरिकाको न्युयोर्कमा पनि आपतकाल घोषणा गरिएको छ। 

न्युयोर्कका गर्भनर एन्ड्रयु कुओमोले कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन्। गर्भनर कुओमोले न्युयोर्कमा अहिलेसम्म ७६ जनामा यो भाइरसको संक्रमण देखिएको र प्रकोप लगातार बढिरहेकोले आपतकाल घोषणा गर्नुपरेको प्रस्ट पारेका छन्। उनका अनुसार न्युयोर्कको न्युरोशेल, वेस्टचेस्टरमा सबैभन्दा धेरै संक्रमित देखिएका छन्। रकवे र सारटोगामा पनि नयाँ संक्रमितहरु फेला परेको कुओमोले जानकारी दिए। 

गर्भनर कुओमोले न्युरोशेलमा यो भाइरसको प्रभाव निकै तीव्रगतिमा बढिरहेकोले रोकथामका लागि हरसम्भव प्रयास भइरहेको बताए। उनले आपतकालको स्थितिमा राज्यमा थुप्रै कर्मचारी नियुक्त गर्ने अनुमति दिइएको छ किनकि स्थानीय स्वास्थ्य विभाग यो भाइरसबाट संक्रमितको संख्या बढ्न थालेपछि समस्यामा पर्न थालेको जानकारी दिए। 

यसअघि अमेरिकाको क्लेफोर्निया र वासिङ्टन डीसीमा पनि बढ्दो कोरोनाभाइरस रोकथामका लागि आपतकाल घोषणा गरिसकिएको छ। हालसम्म अमेरिकमा यो भाइरसबाट १९ जनाभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी