काठमाण्डौ । नेपालमा बुधबार थप २ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ संक्रमित थपिएका छन् ।
बुधबारसम्ममा कोरोना संक्रमणमाथि जित हासिल गर्ने नेपालीको संख्या ७ पुगेको छ भने कुल संक्रमितको संख्या ४५ पुगेको छ । जसमध्ये २७ संक्रमित उदयपुरका मात्रै छन् ।
टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुषले कोरोनामाथि जित हासिल गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
धादिङका ती युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते एयर अरेबियामार्फत दुबईबाट काठमाण्डौ अवतरण गरेका थिए । चैत १० गते कोरोनाको लक्षण देखिएर अस्पताल भर्ना भएका उनको १२ गते आएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएको थियो । पछिल्ला रिपोर्टहरु भने लगातार नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको टेकू अस्पतालले जनाएको छ।
उता, सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ४० वर्षीय पुरुषलाई पनि बुधबार नै डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । उनको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण ठीक भएको ठहरसहित डिस्चार्ज गरिएको बताइएको छ ।
ती पुरुषको चैत २१ गते थ्रोट स्वावको नमूना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढीस्थित अस्पताल ल्याइएको थियो । यसअघि सेती प्रादेशिक अस्पतालबाट कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाही पनि निको भएर घर फर्किसकेका छन् ।
धनगढीस्थित अस्पतालमा उपचाररत ४ मध्ये ३ जना घर फर्किएका छन् भने एक संक्रमित मात्र आइसोलेसनमा रहेका छन् ।
यसैबीच, बुधबार उदयपुरमै थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । यसअघि जमातीका १२ जनामा कोरोना संक्रमण भेटिएको थियो । भोलिपल्ट थप एकजनामा संक्रमण भेटिएको छ । सो मस्जिद आसपासमा गरिएको तीव्र परीक्षणका क्रममा मंगलबार थप ११ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19