काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ६४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ।

जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोनाको कहर इटाली, फ्रान्स, स्पेन र अमेरिकामा जारी नै छ। इटालीमा बितेको २४ घन्टामा ६८१ जनाको ज्यान गएसँगै कुल मृतकको संख्या १५ हजार ३६२ पुगेको छ। 

त्यस्तै स्पेनमा पछिल्लो २४ घन्टाको अवधिमा ८०९ जनाको ज्यान गएको छ। यो महामारीबाट हालसम्म स्पेनमा मात्रै ११ हजार ९४७ जनाको ज्यान गइसकेको छ। यो संख्याले अझै विकराल रुप लिन सक्ने बताइएको छ। स्पेनमा अप्रिल २६ तारिखसम्म लकडाउन गरिएको छ।

यसैगरी अमेरिकामा मृतकको संख्या ८ हजार ४०० भन्दा बढी पुगेको छ। न्युयोर्कमा मात्रै बितेको २४ घन्टामा ६३० जनाको ज्यान गएको छ। अमेरिकमा संक्रमितको संख्या ३ लाखभन्दा बढी पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट आउने दिनमा अझै सयौँ मानिसको ज्यान जान सक्ने आशंका जनाएका छन्। उनले यो कठिन घडीमा सेना र स्वास्थ्य कर्मचारीलाई अलर्ट रहन निर्देशन दिइसकेका छन्। 

फ्रान्समा पनि पछिल्लो २४ घन्टाको अवधिमा थप ४४१ जनाको ज्यान गएको छ। योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५६० पुगेको छ। 

ब्रिटेनमा पनि बितेको २४ घन्टामा ७०८ जनाको ज्यान गएको छ। ब्रिटेनमा हालसम्म यो महामारीबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३१३ पुगेको छ। – एजेन्सी