काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देशमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ‘सिक्स टी’को रणनीति अपनाएको बताएका छन् ।
नयाँ वर्ष २०७७ को उपलक्ष्ममा देशबासीलाई शुभकामना दिन फेसबुक पेजमार्फत लाइभ सम्बोधन गर्दै उनले ‘सिक्स टी’ सूत्रको विषयमा जानकारी गराएका हुन् ।
उनले ‘सिक्स टी’को फर्मूला अनुसार देश अगाडि बढेको र यो फर्मूलाको पूर्ण पालनापछि कोरोना भाइरसविरुद्धको लडाईमाथि विजय हासिल गरिने विश्वास समेत व्यक्त गरे ।
स्वास्थ्यमन्त्रीको ‘सिक्स टी’को रणनीति के हो त ?
पहिलो टी: ट्राभल रेस्ट्रिक्सन
यो रणनीति अन्तरगत सरकारले आवातजावत बन्द गरेको छ । बाहिरी देशबाट नेपाल भित्रिने मार्गहरु बन्द छन् । चैत १० गतेदेखि देशमै पनि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट भित्रिएकाहरु क्वारेन्टाइनमा बस्न जरुरी रहेको स्वास्थ्यमन्त्री ढकालले बताएका छन् । संक्रमण एकअर्कामा नसरोस् भन्नका लागि धेरै मुलुकले यो रणनीति अपनाएका र यो प्रभावकारी पनि भएको उनको दाबी छ । हाम्रो देशलाई समेत संक्रमणबाट बचाउन हो भने ट्राभल रेस्ट्रिक्सन अनिवार्य र यसको पूर्ण पालना समेत अनिवार्य रहेको उनको भनाई छ।
दोश्रो टी: टेस्टिङ
यो रणनीति अन्तरगत स्थानीय, प्रदेश र संघीय सरकारहरुले क्वारेन्टाइनमा रहेकाहरुको नमूना परीक्षणलाई तीव्र पार्ने भन्ने हो । होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आवश्यकता हेरी रणनीति अन्तरगत सरकारले नमूना परीक्षणको व्यवस्था मिलाउनेछ । कुन व्यक्तिलाई परीक्षण गर्ने वा नगर्ने, कति अवधिमा पुनः परीक्षण गर्ने वा नगर्ने भन्ने विषय निक्र्यौल गर्दै परीक्षणको दायरालाई फराकिलो पार्ने र धेरैभन्दा धेरैको नमूना परीक्षण गर्ने योजना यसअन्तर्गत पर्ने मन्त्री ढकालले जानकारी दिए ।
तेश्रो टी: ट्रेसिङ
यो रणनीतिअन्तर्गत सरकारले संक्रमित व्यक्तिका परिवार, नजिकका व्यक्तिहरु, जो ती संक्रमितको सम्पर्कमा आए(उनीहरु)लाई पत्ता लगाउने र त्यस्ता संभावित संक्रमितहरुलाई समेत परीक्षणको दायरामा ल्याउने उद्देश्य हो । पुराना संक्रमितमध्ये अधिकांशसँग सम्पर्कमा आएकाहरुलाई पत्ता लगाउने काम भइसकेको र नयाँ संक्रमितहरुको हकमा समेत ट्रेसिङको कार्य सुरु भइसकेको ढकालले जानकारी दिए ।
चौथो टी: ट्रयाकिङ
संभावित संक्रमित र संक्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवाजत जावत भएमा त्यसको यकिन गरी आइसोलेसनमा राख्न अनुगमन गर्ने विधिलाई सरकारले ट्रयाकिङको सूत्र भनेको छ । यसका लागि सिसिएमसी, स्वास्थ्य मन्त्रालयबाट संचालित कल सेन्टर, मोवाइल एप, वेबसाइट लगायतका माध्यम तथा संयन्त्रणको व्यवस्था गरिएको छ । यो कार्यलाई थप व्यवस्थित बनाउन व्यक्तिले क्वारेन्टाइनको नियम पालना गरे या नगरेको भन्ने विषयको पनि अनुगमन गरिन्छ । यसका लागि समेत स्थानीय सरकारदेखि स्वास्थ्य मन्त्रालयसम्मले संयन्त्र परिचालन गरिरहेका छन् । स्थानीय सरकार, प्रदेश सरकार, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहयकार्यले मात्र ट्रयाकिङको काम संभव हुने मन्त्री ढकालको प्रष्टोक्ति छ ।
पाँचौ टी: ट्रिटमेन्ट
हालसम्म देशमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । तीमध्ये १ जना उपचारपछि घर फर्किइसकेका छन् भने बाँकी १३ जनाको विभिन्न क्षेत्रका अस्पतालमा राखेर उपचार भइरहेको छ । यसैलाई ट्रिटमेन्टको सूत्र भनिएको छ । मन्त्री ढकालले उपचारमा रहेका सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । संभावित संक्रमितको संख्या आँकलन गरी योजनाबद्ध उपचारको व्यवस्था मिलाउने रणनीति समेत यहीभित्र पर्छ । सरकारले कोरोना संक्रमितहरुको उपचारका लािग काठमाण्डौभित्र र बाहिर गरी सबै अस्पतालहरुलाई तयार गरेर राखेको छ । पछिल्लो समय सरकारी र गैरसरकारी, साना तथा ठूला सबै खालका अस्पतालहरुमा कोरोना संक्रमितको उपचार हुने व्यवस्था मिलाइएको मन्त्री ढकालको दाबी छ । यो रणनीति अन्तरगत नै कोरोना संक्रमितको उपचारको व्यवस्था र त्यसमा लाग्ने सबै खर्च सरकारले नै व्यहोर्ने समेत ढकालले प्रष्ट्याए । यो अवधिमा अन्य गम्भीर खालका बिरामीहरुको उपचार व्यवस्था समेत मिलाउनुपर्ने र यसका लागि समेत सरकारले उचित प्रबन्ध गरेको उनले बताए ।
छैठौं टी: टूगेदर
कोरोना संक्रमणको महामारी रोक्न विश्वभरका देशहरु लागिपरेका छन् । नेपाल सरकार समेत आफ्नो बुताले भ्याएसम्म संक्रमण नियन्त्रण तथा रोकथामको प्रयासमा छ । यस्तो अवस्थामा सरकार एक्लैको प्रयासले मात्र रोकथाम र नियन्त्रण संभव छैन, यहीकारण समेत सबै पक्ष सँगै हिँड्न आवश्यक रहेको आशय यो सूत्रले बोक्दछ।
स्वास्थ्यमन्त्री ढकालको भनाईमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति, सीसीएमसी र स्वास्थ्य मन्त्रालयले बनाएका विभिन्न कमिटीमार्फत रोकथाम र नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । अन्य मन्त्रालय तथा निकायमा समेत विषयगत समिति सक्रिय छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सामान सप्लाई गर्ने व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, संचारकर्मी सबै मिलेर अगाडि बढे मात्र कोरोनाविरुद्धको लडाईमा जित हासिल गर्न सकिने ढकालको भनाई छ ।
उनले सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, उनीहरुको सुरक्षाका लागि परिचालित सुरक्षाकर्मी लगायतको जीवन र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको भन्दै देशमा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । उनले यस्तो बेलामा एकजुट भएर कोरोना संक्रमणको लडाईमा होमिनुपर्ने आवश्यकता औंल्याउँदै भने–‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौला ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago